+
+
Shares

माधव–झलनाथ संघर्षमा मध्यमार्गी घनश्याम

एकीकृत समाजवादीको बैठकमा तीन दस्तावेज छलफलका लागि पेश गर्ने कार्यसूची थियो, तर झलनाथ खनालले बैठकको लय नै बदलिदिए ।

सइन्द्र राई सइन्द्र राई
२०८१ फागुन ११ गते २१:४२

११ फागुन, काठमाडौं । पूर्वसांसद एवं पार्टी नेता विदुर सापकोटाको निधनका कारण एक दिन ढिलोगरी सुरू भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक निर्धारित समय भन्दा अगाडि नै सकियो ।

पार्टीको भावी कार्यदिशा पारित गर्नेगरी बोलाइएको बैठक तीन दिन (८–१० फागुनसम्म) बस्ने भनिएको थियो ।

तर जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलमा ११ फागुनदेखि अर्कै कार्यक्रमका लागि बुकिङ भएकाले एकीकृत समाजवादीले आफ्नो बैठक छोट्याउनु पर्‍यो । नेताहरूका अनुसार केन्द्रीय सदस्यहरूले उठाएका एजेण्डालाई सचिवालयले निष्कर्षमा पुर्‍याउने सहमतिका साथ बैठक छोट्याइएको हो ।

‘पार्टीमा देखिएका समस्याहरूबारे बैठकमा कुरा उठेको छ । ती कुराहरू समेट्ने जिम्मा सचिवालयलाई दिइएको छ’, उपाध्यक्ष जगनाथ खतिवडाले भने, ‘यद्यपि सार्वजनिक भएको जस्तो धेरै समस्या चाहिँ देखिएको होइन ।’

बैठकमा सहभागी अरु नेताहरूका अनुसार भने अधिकांश वक्ताले पार्टीकै समस्याबारे बोलेका थिए । थालनी भने पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेका थिए ।

९ फागुनमा बैठक उद्घाटनपछि अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन लगायत दस्तावेज, सम्मानित नेता झलनाथ खनालको ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ र महासचिव घनश्याम भूसालको ‘आन्दोलनद्वारा पार्टी निर्माण’ दस्तावेज छलफलका लागि पेस गरिनुपर्ने थियो ।

तर पूर्वप्रधानमन्त्री खनालले बैठकको लय नै बदलिदिए । ‘बैठकमा प्रस्तुत भएका दस्तावेजहरूमाथि नभएर झलनाथ खनालले आफ्नै पुरक प्रस्तावलाई अगाडि बढाउनुभयो’, एक केन्द्रीय सदस्य भन्छन्, ‘त्यो पुरक प्रस्तावमा युवा संघ नेपाल र अनेरास्ववियूमा उत्पन्न समस्या थियो । सँगै पार्टी विधानको कुरा थियो ।’

गत १४ माघमा अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन–४ जारी गरेर युवा संघ नेपालका अध्यक्षबाट कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियू अध्यक्षबाट आरती लामालाई पदमुक्त गरेका थिए । अपानिबाटै पदमुक्त हुनुपरेपछि लामा र विश्वकर्माले सार्वजनिक आपत्ति जनाएका थिए । यसलाई पूर्वप्रधानमन्त्री खनालले केन्द्रीय कमिटी बैठकमा छलफलको विषय बनाए ।

अध्यक्ष नेपालको शैलीबाट पार्टी नचल्ने निष्कर्ष निकाल्दै खनालले भने, ‘हामीले किन एमालेबाट विद्रोह गरेका थियौं, यहाँनेर नेतृत्वले मुटु छामेर सम्झना गर्नुपर्छ ।’ निकै लामो समय लिएर खनालले माधव नेपालको आलोचना गरेपछि बैठक हल प्रष्ट दुई खेमामा विभाजित भएको अर्का एक नेता बताउँछन् ।

‘पहिलो दिन झलनाथ खनालपछि ११ जनाले बोल्नुभयो । तर बैठक प्रष्ट रुपमा दुई धारमा विभाजित भयो,’ ती नेता भन्छन्, ‘माधव नेपाल पक्षका नेताहरुले सम्मानित नेताको आलोचना गर्नुभयो ।’
खनालको विरोध गर्नेहरूले नेतृत्वमा रहेको असहमति केन्द्रीय कमिटी बैठकसम्म ल्याइएको आपत्ति जनाएका थिए ।

‘धेरैजसो निर्णय तीन नेता (माधव, झलनाथ र घनश्याम) ले गर्नुभएको छ । असहमति भए तीन जनाबीच कुरा गर्नु राम्रो हो, तर यहाँ छरपस्ट गर्नु राम्रो भएन,’ माधव नेपाल पक्षधर नेताहरुको साझा तर्क थियो ।

खनाल पक्षका नेताहरूले त्यस्तो तर्कको खण्डन गरेका थिए । ‘महाधिवेशन हलपछि शक्तिशाली निकाय केन्द्रीय कमिटी हो, पार्टीका समस्याहरू यहाँ ल्याएर राम्रै भयो,’ खनाल पक्षका नेताहरुले भनेका थिए ।

खनालले अध्यक्ष र महासचिवसँगै आफू हलबाटै अनुमोदित भएर आए पनि विधानमा केन्द्रीय कमिटीले सम्मानित नेता तोक्ने भन्ने लेखिएकोप्रति चर्को असहमति जनाएका थिए ।

मध्यमार्गी घनश्याम

बैठकभर महासचिव घनश्याम भूसाल भने मध्यमार्गी भूमिकामा देखिएका थिए । ‘पार्टी अध्यक्ष र सम्मानि नेता पक्षधरमा बाँडिएर नेताहरू हो–हल्ला र नाराबाजीमै उत्रँदा महासचिवको भूमिका स्वाभाविक रुपले मध्यमार्गी बन्न पुग्यो’, एक पोलिटब्यूरो सदस्य भन्छन् ।

महासचिव भूसालले सहजकर्ताको भूमिका दुवै दिन खेल्नु परेको थियो । ‘पहिलो दिन झलनाथ खनालको आक्रोशलाई मत्थर पार्ने काम महासचिव कमरेडले नै गर्नुभयो’, ती पोलिटब्यूरो सदस्य भन्छन् । नेता खनालले विधान प्रतिवेदनप्रति आपत्ति जनाएका थिए ।

महाधिवेशन हलको भावना विपरीत विधान प्रतिवेदन छापिएको नेता खनालको भनाइ थियो ।

‘महाधिवेशन हलले नेपाली विशेषता समाजवादी क्रान्तिको प्रस्ताव पारित गरेको छ । तर संविधान बमोजिम चल्ने भनेर महाधिवेशनको अपमान गरिएको छ,’ खनालले भनेका थिए । समाजवादी क्रान्ति भनिसकेपछि बहुदलीय जनवाद र संविधान बमोजिम भन्ने जस्ता कुराहरु हट्नुपर्ने उनको मत थियो ।

खनालले अध्यक्ष र महासचिवसँगै आफू हलबाटै अनुमोदित भएर आए पनि विधानमा केन्द्रीय कमिटीले सम्मानित नेता तोक्ने भन्ने लेखिएकोप्रति चर्को असहमति जनाएका थिए । यसमा महासचिव भूसालले ‘महाधिवेशन भन्दा ठूलो केन्द्रीय कमिटी नहुने’ निष्कर्ष प्रस्तुत गरेर समाधानको प्रयास गरेका थिए ।

बैठक स्रोतका अनुसार दोस्रो दिन त एकअर्काविरूद्ध हलभित्रै हो–हल्लाको स्थिति सिर्जना भएको थियो ।

अनेरास्ववियूको अध्यक्षबाट हटाइएकी आरती लामाले माधव नेपाललाई सम्बोधन गर्दै ‘नेतृत्वबाटै अन्यायपूर्ण निर्णय भएको’ बताएपछि मञ्चकै नेताहरुबीच असहज परिस्थिति बन्यो ।

‘माधव नेपालले मलाई यस्तो प्रश्न गर्ने भनेर चूप लाग्न आरतीलाई निर्देशन दिइरहनुभयो, माधव नेपालको प्रतिवादन झलनाथ खनालले मञ्चबाटै गर्नुभयो,’ ती स्रोत भन्छ, ‘केन्द्रीय सदस्यहरूले पार्टी बैठकमा कुरा राख्न पाउनुपर्ने झलनाथ खनालको तर्क थियो ।’ माधव र झलनाथबीच मञ्चमै असहज परिस्थिति बन्दा पनि सम्हाल्ने प्रयत्न महासचिव भूसालले गरेका थिए ।

‘बैठक त रामकुमार भट्टराईले चलाइरहनुभएको थियो । तर मञ्चदेखि हलसम्म सम्हाल्ने कुरा महासचिव कमरेडले गर्नुभयो’, स्रोत भन्छ । आरती लामाले बोलेपछि हल अझ बढी विभाजित बन्न पुगेको थियो ।

पोलिटब्यूरो सदस्य विजय गुरुङ, नेतृत्वमा रहने नेताहरू कमजोरी स्वीकार्न तयार नहुँदा पार्टी बैठकहरू असहज जस्तो देखिन पुगेको बताउँछन् । ‘नेतृत्व पंक्तिले कमजारी स्वीकार्ने हो भने अहिले देखिएका समस्याहरु हल भएर जानेछ । तर आफ्नो कमजोरी सुन्नासाथ बेखुस हुने प्रवृत्तिले समस्या आइरहेको छ’, उनी भन्छन् ।

एकता अस्वीकार, ‘आन्दोलनको कार्यक्रम’ पारित

नेपाल भर्सेस खनाल जस्तो बन्न पुगेको बैठकको निष्कर्ष साझा छ । ‘जनताको बीचमा गएर जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्ने निष्कर्षमा कसैको पनि असहमति छैन,’ उपाध्यक्ष खतिवडा भन्छन्, ‘अब हामी जनताको समस्या लिएर जनताकै बीचमा जान्छौं ।’

खतिवडाका अनुसार पार्टी एकताको एजेण्डालाई अस्वीकार गरेको छ । ‘आगामी चुनावमा हामी सबैका लागि प्रतिस्पर्धी शक्तिका रुपमा तयार हुनेछौं । त्यसै बमोजिम परिचालित हुनेछौं । पार्टी एकता जस्ता कुरालाई अस्वीकार गर्‍यौं,’ उनी भन्छन् ।

अर्का नेता नरेश शाही पनि आन्दोलनबाट पार्टी निर्माणमा साझा सहमति जुटेको बताउँछन् । ‘पार्टीले आन्दोलनको अगुवाईं गर्नेछ, र आन्दोलनबाट पार्टीको निर्माण हुनेछ’, शाही भन्छन् ।

केन्द्रीय सदस्य अशेष घिमिरे समाजवादसम्म पुग्न पूँजीवादविरुद्धको संघर्षमा होमिने निर्णय बैठकले गरेको बताउँछन् ।

‘सडक र सदनबाट पूँजीवादविरुद्धको संघर्षमा होमिनेछौं । किनकि अहिलेको बेरोजगारी, महँगी, उत्पादकत्वको समस्या लगायत तमाम संकट पूँजीवादकै कारणले सिर्जना भएको हो’, उनी भन्छन् ।
पूँजीवादविरुद्धको त्यो संघर्षमा सबै जनसंगठन र कमिटी परिचालित गरिने बताउँछन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?