+
+
Shares

निगमका दुइटै ‘न्यारो बडी’ विदेशमा थन्किए, यात्रु प्रभावित

निगमसँग रहेको १ सय ५७ सिट क्षमतायुक्त दुई थान न्यारो बडी जहाजमध्ये एउटा साउदी अरबको दम्माम र अर्को चीनमा थन्किएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते २१:२३

११ फागुन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुइटै ‘न्यारो बडी’ जहाज विदेशमा थन्किएका छन् ।

निगमसँग रहेको १ सय ५७ सिट क्षमतायुक्त दुई थान न्यारो बडी जहाजमध्ये एउटा साउदी अरबको दम्माम र अर्को चीनमा थन्किएका हुन् ।

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०–२००’ सिरिजको ‘९एन–एकेएक्स’ दर्ता नम्बरको निगमको जहाज आज आइतबार दम्माबाट काठमाडौं उड्ने क्रममा प्राविधिक समस्या देखिएपछि उतै ‘ग्राउन्डेड’ भएको हो ।

‘जहाज उड्नुअघि नियमित चेक गर्ने क्रममा नोज ल्यान्डिङ गियरमा समस्या देखिएपछि ग्राउन्डेड गरेका छौं,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘जहाज मर्मत गर्न साउदी एयरलाइन्ससँग कुराकानी भइरहेको छ ।’

त्यसैगरी नियमित मर्मत (सी–चेक) का लागि चीन गएको सोही सिरिजको अर्को जहाज आज काठमाडौं आउने तालिका भए पनि उतै रोकिएको पौडेलले जानकारी दिए ।

दर्ता नम्बर ‘९एन–एकेडब्लू’ जहाजको मर्मत खर्च तोकिएको समयमा नभएपछि जहाज उड्न नपाएको उनले बताए ।

‘हाम्रो जहाज मर्मत गर्ने कम्पनी चाइना साउदर्न एयरलाइन्सलाई मर्मत शुल्क भुक्तानीमा केही समय लागेकाले जहाज आउन पाएन,’ प्रवक्ता पौडेलले भने, ‘सम्भवतः अब दुवै जहाज भोलि सोमबारसम्म काठमाडौं आइपुग्ने छन् ।’

दुइटै न्यारो बडीको उडान रोकिँदा साउदीबाट आउन लागेका यात्रु र काठमाडौंबाट यूएईको दुबई जानुपर्ने उडान रोकिएको पौडेलले बताए ।

उनका अनुसार साउदीमा रोकिएका केही यात्रुलाई स्थानीय होटलमा बास बस्ने व्यवस्था मिलाइएको छ भने केहीलाई अन्य एयरलाइन्सका टिकट काटेर काठमाडौं ल्याउने व्यवस्था भइरहेको छ ।

‘आज आइतबार र भोलि सोमबार दुबई जानुपर्ने यात्रुलाई भने अब सोमबार वाइड बडी जहाजबाट एउटै उडान मार्फत पठाउँछौं,’ उनले भने, ‘सकेसम्म व्यवस्थापन गरिरहेका छौं । अन्य गन्तव्यका उडानमा भने प्रभाव परेको छैन ।’

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न दुइटा न्यारो बडी र २ सय ७४ सिट क्षमतायुक्त दुई थान वाइड बडी गरी चार थान जहाज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?