
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ मा ब्याटल राउण्ड सुरु भएको छ । पछिल्लो सप्ताहान्त ब्याटल राउण्डका दुई एपिसोड प्रसारण भए । यो राउण्डमा कूल ६४ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
छैटौं सिजनमा ब्याटल राउण्डको सुरुवात रोचक देखिएको छ । प्रसारित २ एपिसोडमा कूल १६ जनाले प्रतिस्पर्धा गरे, जसमध्ये स्टिलसहित ९ जना नकआउट राउण्डका लागि छनोट भए ।
ब्याटल प्रतिस्पर्धा कोच मेलिनाको टीमबाट सुरु भयो जहाँ उनले अशिम क्षेत्री र विकास थारुलाई ब्याटलमा उतारिन् । दुबैजनाले रामकृष्ण ढकालको गीत ‘चरीले त छोडेर गै गयो’मा प्रस्तुति दिए । मेलिनाले थारुलाई छनोट गरिन् । असिम बाहिरिए ।
कोच खेम सेन्चुरीको टिमबाट अनिल श्रेष्ठ र रुवेन राईले सविन राईको गीत ‘बैमानी’ गाएर सबैको मन जिते । कोच खेमले अनिललाई अगाडि बढाउने निर्णय गरे र रुबेन बाहिरिए ।
कोच राजु लामाको टिममा पनि ब्याटल राउण्डको रोमाञ्चक भीडन्त देखियो । प्रशान्त गुरुङ र अरविन्द पौडेल क्षेत्रीले पूर्ण राईको ‘स्पर्श संगीत’मा प्रस्तुति दिए । राजुले ब्याटलमा प्रशान्त गुरुङलाई छनोट गरे र अरविन्द बाहिरिए ।
कोच उदय सोताङको टिमको ब्याटलमा नर्वदा लकान्द्री र दावा तामाङले प्रवीण बेडवाल र रचना रिमालको ‘तिमीले सोचे भन्दा धेरै’मा गजबको प्रस्तुति दिए । कोच उदयले दावालाई छनोट गरे ।
१२औं एपिसोडमा पनि प्रतिस्पर्धा रोमाञ्चक बन्यो । कोच उदयले ताशी फिन्चो मोक्तान र सुशील खड्कालाई भिडाएका थिए । ताशी र सुशीलले हर्कुलस बस्नेतको ‘के यो माया हो’ गीतमा उत्कृष्ट प्रस्तुति दिए । यसमा उदयले ताशीलाई चयन गरे भने सुशील बाहिरिए ।
कोच मेलिनाको टिममा अविनाश गिरी र राजेश लिम्बुले उदितनारायण झाको ‘आज मन उडेर भाग्छ’ गीत गाए । राजेश छनोट हुँदा अविनाश बाहिरिए ।
कोच खेमले किस्मत सियार र इन्द्रकला राईलाई भिडाए । उनीहरूले रेखा शाहको ‘सिम सिमे पानीमा’ गाए । कोच खेमले इन्द्रकलालाई अघि बढाउने निधो गरे ।
कोच राजुको टिमको ब्याटल प्रतिस्पर्धात्मक रह्यो । प्रनिप बराल र सिमोन खड्काले सविन राईको गीत ‘म संसार जित्ने आँट गर्दैछु’ गीतमा प्रतिस्पर्धा गरे । राजुले सिमोनलाई छनोट गरेपनि प्रनिपलाई कोच उदयले स्टिल गरे ।
‘द भ्वाइस अफ नेपाल’ हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ । यससँगै भ्वाइस अफ नेपालको युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।
प्रतिक्रिया 4