
काठमाडौं । ‘लाज शरणम्’को निर्माता कम्पनी जेपीटी क्रिएसनले ढुक्क भएर फिल्म प्रदर्शन गर्न हललाई आग्रह गरेको छ । सोमबार हलहरूलाई पत्र लेख्दै फिल्मले कुनै ब्यवधान आइपरे निर्माण पक्षले जिम्मेवारी लिने भन्दै आश्वस्त तुल्याएको छ ।
हलहरूको छाता संस्था चलचित्र संघले बुकिङ खुलाउनुअघि अदालतमा परेको मुद्दा निष्क्रिय भएको बारेको पत्र खोजेको थियो । यसको जवाफमा फिल्मको निर्माण संस्थाले पत्र लेख्दै हल संचालकलाई आश्वस्त तुल्याउन खोजेको हो ।
पाटन उच्च अदालतले सेन्सर पास नहुन्जेल प्रचारप्रसारमा रोक लगाएको, सेन्सर बोर्डले उजुरी परेअनुसार कुनै पनि विषय नरहेको तथा प्रदर्शन अनुमति दिएको भन्दै चलचित्र संघलाई जेपीटी क्रिएसनले जानकारी समेत गराएको छ ।
हलहरूले एड्भान्स टिकट विक्री खुलाउनुअघि निर्माताबाट कानूनीरुपमा सुनिश्चित हुन खोजेको जनाइएको छ । जसको जवाफमा निर्माताले हल संचालकलाई पत्र लेखेका हुन् । हलहरूले सोमबार अपरान्हदेखि एड्भान्स टिकट विक्री (बुकिङ) खुलाउने तयारी गरेका छन् ।
गतसाता फिल्मको चरित्र चित्रणप्रति आपत्ति जनाउँदै पूर्वमन्त्री अफताव आलमले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाइमा अदालतले सेन्सरअघि प्रचारप्रसार रोक्न आदेश दिएको थियो । तर, आइतबार केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिएपछि प्रचारप्रसार र प्रदर्शनको बाटो खुलेको छ । ‘लाज शरणम्’ बुधबारदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4