
१२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटक आगमन हुने र नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट अनि प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यु नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार मन्त्रालयमा भएको भेटमा पाण्डेले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले नेपालको पर्यटन विकासका लागि चिनियाँ राजदूतसँग पटक–पटक छलफल गरेको भन्दै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षका उपलक्ष्यमा चीन सरकारले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेकोमा खुसी व्यक्त गरे ।
मन्त्री पाण्डेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा चीनबाट अझ धेरै पर्यटक आगमनले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुनेमा पनि आफू आशावादी भएको बताए ।
पर्यटनमन्त्री पाण्डेले नेपाल एयरलाइन्सले ग्वान्जाओ–नेपाल सिधा उडानमा प्रयास गरिरहेको र हिमालय एयरलाइन्सले पोखरादेखि ल्हासासम्मको उडान गर्ने तयारी गरिरहेको जानकारी दिए ।
भेटमा चिनियाँ मन्त्री युले यसअघि दुई देशका राष्ट्राध्यक्षबीच भएको सम्झौतालाई कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए । चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ पार्टीले ल्याएका विचारधारा र परम्परागत विचारधारालाई एकअर्कामा आदानप्रदान र शान्तिपूर्ण विकासतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
नेपाल गौतम बुद्धको जन्मस्थल भएको उल्लेख गर्दै उनले चीनमा १० करोड बढी बुद्ध धर्मावलम्बी रहेको जानकारी गराए ।
प्रतिक्रिया 4