
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग सरकार चलाइरहँदा कुनै दुर्व्यवहार भएको खण्डमा सरकार छाड्ने बताएका छन् ।
सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले विधिको शासनमा कतै सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने बताएका हुन् ।
‘०७९ सम्म हाम्रो प्रयास, हाम्रो प्रयत्न, हाम्रो तर्फबाट इमानदारीता रहन्छ । र अहिले भएको समझदारी कायम गर्ने कुरामा रहन्छ । हामी कुनै चकचक गर्दैनौं । हामी कुनै उपद्रो गर्दैनौं,’ महामन्त्री थापाले भने, ‘हामी यताबाट उफ्रेर कतै जाँदैनौं । तर, यो तीन वर्षको सरकार जुन छ, यसको अधिकतम प्रयत्न गर्छौं । नेकपा एमालेसँग मिलेर सरकार चलाइरहँदा केही सर्तहरू छन् । हामी यदी विधिको शासनमा सम्झौता गर्नुपर्यो भने सरकार छाड्छौं, तर कानुनको शासनमा सम्झौता गर्दैनौं ।’
साथै, उनले आधारतूत अधिकारका लागि सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने दोहोर्याए ।
‘प्रजातान्त्रिक अधिकार, तपाईं र मेरो आधारभूत अधिकार छ, त्यो अधिकारसँग सम्झौता गर्नुपर्यो भने कांग्रेसले सरकार छाड्छ,’ उनले भने ।
महामन्त्री थापाले केन्द्रदेखि जिल्लासम्म एमालेसँग बराबर सम्बन्ध आफूहरूले चाहेको जिकिर गरे ।
‘नेकपा एमालेसँग कांग्रेस बराबरको सम्बन्ध चाहन्छ । न हामी एमालेलाई हेप्छौं, न हामी एमालेसँग हेपिन्छौं । न माथि न तल,’ महामन्त्री थापाले भने, ‘केन्द्रमा पनि र जिल्लामा पनि त्यही व्यवहार चाहन्छौं । हामीलाई कहिँ कतै दुर्व्यवहार भयो भने त्यो सहेर नेपाली कांग्रेस बस्दैन । यो कुरामा हामी प्रष्ट हुन आवश्यक छ ।’
प्रतिक्रिया 4