
१२ फागुन, काठमाडौं । काठमाडौंबाट मकवानपुर हेटौंडा, थाहा नगरपालिका जोड्ने ‘गणेशमान सिंह मार्ग’ सडकको चित्लाङ–चन्द्रागिरि खण्डको स्रोत सुनिश्चित भएको छ ।
मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद समेत रहेका सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ४० करोड लागतमा अब सडक स्तरोन्नति हुने बताएका छन् ।
बर्तौलाका अनुसार यस वर्ष सरकारले सडक डिभिजन काठमाडौंले योजना कार्यान्वयन गर्ने गरी ४० करोड बराबरको स्तरीकरणको काम गर्दै छ । १५ करोड बराबरको ठेक्का दुई साताअघि लागेको थियो भने अहिले पुनः उक्त सडकमा २५ करोडको ठेक्का लगाउने गरी आज सोमबार सर्वेक्षण भएको हो ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले यो वर्ष ठेक्का प्रक्रियाका लागि १० प्रतिशत रकम सहित २५ करोडको थप सहमति दिएको हो ।
‘४० करोड आवश्यक रहेकोमा १५ करोड बराबरको ठेक्का लागिसकेको छ । थप २५ करोडको पनि स्रोत सुनिश्चत गरेर अर्थ मन्त्रालयले सहमति दिएको हो । यसबाट केही छुटपुट बाहेक चन्द्रागिरि–चित्लाङ खण्ड सहज हुन्छ,’ भण्डारीले अनलाइनखबरसँग भने, ‘स्रोत तय भएसँगै डिभिजन सडकले आजै सर्वेक्षण समेत गरेको छ ।’
काठमाडौं चन्द्रागिरिबाट मकवानपुर चित्लाङ जोड्ने २२ किलोमिटर लामो गणेशमान सिंह मार्ग डरलाग्दो छ । थानकोटबाट सुरु हुने यो सडक चन्द्रागिरि पहाडसम्म उकालो छ, त्यसपछि ओरालो झरेर चित्लाङ पुग्छ । यो सडकको अप्ठेरो भाग थानकोटदेखि चन्द्रागिरि डाँडासम्म छ । त्यसपछि तुलनात्मक सजिलो छ ।
वर्षामा हिलो र हिउँदमा धुलोका कारण दैनिक हजारौं यात्रुले सास्ती खेप्दै आएका छन् । सडक विभागले यसअघि बजेट अभावमा काम गर्न नसकेको बताउँदै आएको थियो ।
प्रतिक्रिया 4