+
+
Shares

झापामा बोल्दाबोल्दै किन रिसाए नारायणकाजी ?

माओवादीले साँझ झापाको बाह्रदशी गाउँपालिकामा जनभेटघाट तथा खबरदारी सभा राखेको थियो । तर, उक्त सभामा नारायणकाजी श्रेष्ठ देखिएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते २०:१८

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अभियान थालेको छ । झापाको कचनकवलमा विशेष समारोहको आयोजना गरेर माओवादीले तराई–मधेश जागरण अभियान थालेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका सबैजसो शीर्ष नेता अभियानमा जुटेका छन् । माओवादीले यो अभियानलाई जनतासँग पुनः फर्कने अभियानको रुपमा लिएको छ । तर, उद्घाटन समारोहमा सम्बाेधन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकाएक रिसाएपछि केहीबेर नेताहरूबीच नै गाइँगुइँ चल्यो ।

सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम प्रस्तोतासँग सवालजवाफ गरेका थिए । कार्यक्रम प्रस्तोता थिए, माओवादी झापाका संयोजक राजु आचार्य, अग्नि ।

नारायणकाजीले सम्बोधन गर्दैगर्दा उनी पोडियम नजिकै उभिएका थिए । तर, श्रेष्ठले किन उभिएको ? भन्दै प्रश्न गरे ।

सोही विषयमा अध्यक्ष प्रचण्डले समेत स्पष्टीकरण दिनुपरेको थियो ।

माओवादीले सोमबार झापाको बाह्रदशी गाउँपालिकामा जनभेटघाट तथा खबरदारी सभा राखेको थियो । तर, उक्त सभामा श्रेष्ठ देखिएनन् ।

प्रचण्डको सचिवालयले उपलब्ध गराएका तस्वीरहरूमा श्रेष्ठ देखिँदैनन् ।

बाह्रदशीको सभा भर्खैरै सकिएको छ ।

तर, माओवादी केन्द्रीय सदस्य रन्जित तामाङ भने श्रेष्ठ  सभामा उपस्थित नहुनुको कारण  भनी आएका सूचना सही नभएको बताउँछन् । ‘उहाँ रिसाएर अर्को सभामा नजानुभएको होइन, आज बेलुकी राजधानी फर्कनै पर्ने टिकट थियो,’ तामाङले अनलाइनखबरसँग भने, ‘भोलि गुल्मीमा अर्को कार्यक्रम भएकाले उहाँको फर्कने कार्यतालिका पहिल्यै थियो ।’

दिउँसो के भएको थियो ?

कचनकवलमा आयोजित खबरदारी सभामा माओवादी केन्द्रका सबै पदाधिकारीलाई बोल्न समय छुट्याइएको थियो ।  सचिव, उपमहासचिव, महासचिव, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठको बोल्ने पालो आयो ।

श्रेष्ठ आफ्नो पालोमा अध्यक्ष प्रचण्डको प्रशंसा गरिरहेका थिए । सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्रता दिँदै प्रचण्डकै नेतृत्वमा अघि बढ्ने जिकिर गरिरहेका थिए ।

त्यही बेला उद्घोषक आचार्यलाई श्रेष्ठले आफ्नो नजिकै आएको दखे ।

‘सक्नुस् भन्न आउनु भा हो ? हो ?,’ श्रेष्ठले सोधे ।

आचार्यको जवाफ थियो, ‘होइन ।’

लगत्तै नारायणकाजीले भने, ‘हो भने जान्छु ।’

आचार्यले फेरि भने, ‘होइन ।’

नारायणकाजी थप आक्रोशित हुँदै भने, ‘अनि के त, यहाँ टुक्क आएर बस्नुभयो । म बिदा होऔं ?’

मञ्चतिरबाट एक नेताले भने, ‘होइन, कमरेड बोल्नुस् ।’

त्यसपछि श्रेष्ठले भने, ‘समयको एकदम चाप छ । तर, म थोरै कुरा भन्न चाहन्थेँ । सायद, सञ्चालक कार्यक्रमलाई धेरै चाप भयो होला, म बिदा हुन्छु । लालसलाम ।’

नारायणकाजी रिसाएर फर्किएपछि बोलेका अध्यक्ष प्रचण्डले पनि यसबारे प्रष्टीकरण दिनुपर्‍यो ।

‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दैगर्दा यहाँ अलिकति असहज जस्तो हुन गयो । उद्घोषक कमरेड…। मेरो त ध्यान तपाईंहरूतिर थियो । म जनतातिर हेरिरहेको थिएँ,’ उनले भने ।

प्रचण्डका अनुसार उद्घोष श्रेष्ठले आफ्नो गल्ती भए क्षमायाचना गर्ने बताइसकेका छन् ।

‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दैगर्दा तपाईंहरू बडो ध्यानपूर्वक सुनेको मैले महसुस गर्दै थिएँ । त्यही बेलामा अग्नि जी यहाँ आइपुग्नु भएछ । त्यसले उहाँलाई अलिकति के हो भन्ने पर्न गयो,’ प्रचण्डले भनेका छन्, ‘यसमा अग्नि जीले अलिकति आत्मसमिक्षा गरेर यसमा मेरो गल्ती भए क्षमा चाहन्छु भनिसकेको हुनाले यसको मूल्याकंन, समीक्षा त गरौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?