+
+
Shares

‘लोक रक’ शैलीमा आयो नेपथ्यको बहुचर्चित ‘हिमाल चुचुरे’

यो नवीन स्वरुपसहित पुरानो गीतलाई सिँगार्ने जमर्को ब्यान्ड र नयाँ पुस्ताका भिडियोकर्मीले संयुक्त रुपमा गरेका हुन् । नेपथ्यसँग केही वर्षयता सहयात्रा गर्दैआएका भिडियोग्राफर दिपित राजले गतवर्ष नेपाल र अमेरिकामा आयोजित नेपथ्य कन्सर्टका दृश्यबाट सवा चार मिनेट लामो यो भिडियो तयार पारेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १३:४०

काठमाडौं । नेपथ्य ब्यान्डलाई उसको प्रारम्भिक दिनमा लोकप्रियता दिलाउने एउटा गीतले तीन दशकपछि फेरि आफ्नो चोला परिवर्तन गरेको छ ।

‘जाऊँ भने जाऊँ त नि
दुईचार महिना घुमेर आऊँ त नि
हिमाल चुचुरे
दाइको मन कस्तो बानी निष्ठुरे’

लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर्दैछ ।

यो नवीन स्वरुपसहित पुरानो गीतलाई सिँगार्ने जमर्को ब्यान्ड र नयाँ पुस्ताका भिडियोकर्मीले संयुक्त रुपमा गरेका हुन् । नेपथ्यसँग केही वर्षयता सहयात्रा गर्दैआएका भिडियोग्राफर दिपित राजले गतवर्ष नेपाल र अमेरिकामा आयोजित नेपथ्य कन्सर्टका दृश्यबाट सवा चार मिनेट लामो यो भिडियो तयार पारेका हुन् ।

गीतलाई नयाँ स्वरुपमा भने ब्यान्ड स्वयंले ढालेर केही समययता कन्सर्टहरुमा गाउँदै आएको छ । हालै बजारमा उपलब्ध नेपथ्य ब्याण्डको जीवनीमा यस गीतको रोचक पृष्ठभूमि पनि पढ्न सकिन्छ ।

नेपथ्यका संस्थापकद्वय अमृत गुरुङ र दीपकजङ्ग राणा कुनै समय पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्थे । एक दिन सङ्गीत जानेका दुई जना ‘गोरा’ उनीहरूको स्कुलमा आइपुगे । हिप्पीजस्ता ती गोराले स्कुलमा सांस्कृतिक कार्यक्रम गर्ने भए ।

साथमा जादु र चटक पनि देखाउने भनिएको थियो । कार्यक्रमका निम्ति तोकिएको ‘डाइनिङ हल’ मा विद्यार्थीको भीड लाग्यो । त्यो दिन उनीहरूले थुप्रै गीत सुनाए । तीमध्ये धेरैजसो अङ्ग्रेजी थिए । एउटा भने संकलन गरिएको नेपाली लोकगीत थियो ।

त्यो गीत सुनाइरहँदा अर्कै कुराले रमाइलो हुन पुग्यो । ती गोराहरूले गितार बजाउँदै उनीहरूको लबजमा ‘दाइको मन कस्तो’ उच्चारण गर्न खोज्थे, जुन ‘डाइको मन क्यास्टो’ सुनिन्थ्यो । यसरी जिब्रो चिप्लिँदा विद्यार्थीहरू खुबै स्वाद मानेर रमाउँथे ।

कतिसम्म भने गण्डकी बोर्डिङका केटाहरू पछिसम्मै ‘बहिनी त कस्तो राम्रो’ भन्नुपर्दा ‘क्यास्टो राम्रो’ भन्थे । जिब्रो र मस्तिष्कलाई प्रभाव पारेको त्यस गीतको सम्झना दीपक र अमृतको स्मृतिमा ताजै थियो ।

कालान्तरमा उनीहरूले खोलेको ब्यान्डको दोस्रो एल्बममा सम्झनाबाट निकालेर यो गीतलाई फेरि पस्कने मात्र नभई त्यस एल्बमको नामकरण यसै गीतबाट हुनपुगेको थियो । नेपथ्यको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ सन् १९९४ मा तयार भएको थियो ।

‘हिमाल चुचुरे गीतलाई सुरुमा बिग्रिएको जिब्रो अनुसारै क्यास्टो भनेर रेकर्ड गर्ने चाहना थियो,’ संस्थापक एवं गायक अमृत भन्छन्, ‘तर साथीहरूमा मत नमिलेपछि अलिक मिलाएरै तयार पारेका थियौं ।’ स्कुल जीवनमा प्रभाव पारेको त्यो गीतले यसरी समयसँगै चोला फेर्दै गएको देखेर आफूलाई पनि खुसी लागेको अमृत सुनाउँछन् ।

‘नयाँ पुस्ताको रुचिअनुसार नौला गीतहरू नेपथ्यले सदैव सुनाउँदै आएको छ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्ने नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कहिलेकाहीँ कुनै कालखण्डमा ब्यान्डले नै गाएको पुरानो गीतलाई पनि नयाँपन दिँदा त्यस्ता रुचिको सम्बोधन हुन सक्ने आँकलन गरेरै यो गीत यस रुपमा पुनः प्रस्तुत गरेका हौं ।’

यो म्युजिक भिडियोलाई नेपथ्यको युट्युब च्यानलसहित स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमेजनलगायत प्रायः डिजिटल प्लाटफर्ममा हेर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?