+
+
Shares

रोचक ६ बहाना : कसैले रक्सी पिउन आग्रह गर्दा कसरी टार्ने ?

मनिषा थापा मनिषा थापा
२०८१ फागुन १३ गते १८:५७

भनिन्छ, पियक्कडहरूसँग रक्सी पिउने अनेक बहाना हुन्छन् । कहिले ‘मौसमले च्यालेन्ज’ गर्‍यो भन्दै पिउँछन् त कहिले तनाव भयो भन्दै । तनाव वा दुःख भुलाउन मात्र होइन, खुसी साट्न पनि उनीहरू रक्सीको साथ खोज्छन् । कसैको जन्मदिन परेको होस् वा कसैलाई विदेशको भिषा लागेको होस् । उनीहरू उमंगसाथ भन्छन्, ‘अहो, आज त रक्सी पिउनुपर्छ ।’

यसरी साथीभाइसँग दुःख साट्न वा खुसी बाँढ्न सहभागी हुनैपर्ने बाध्यता पनि आइलाग्छ । त्यसबेला चियर्स नगरी सुखै पाइँदैन । यस्तो अवस्थामा रक्सी पिउनबाट कसरी बँच्ने ? यसको पनि केही बहाना छ ।

साथीभाइ, इष्टमित्रले रक्सी पिउनका लागि दिएको निम्तो वा आग्रहलाई सोझै नकार्न कठिन हुने अवस्थामा के गर्ने ?

यहाँ ६ बहाना उल्लेख छ । भलै, यी सबै व्यवहारिक नभएपनि बेलामौकामा काम लाग्न सक्छ । यो बहाना उनीहरूका लागि काम लाग्न सक्छ, जो नियमित पिउँदै आएका थिए तर अब रक्सी छाड्ने तयारीमा छन्।

एक : घरमा जरुरी काम भएको बहाना बनाउने

मानौं तपाईंलाई कसैले रक्सी पिउनका लागि निम्तो गरे । नजाउँ त आफूसँग रिसाउने, जाउँ त रक्सी पिउनैपर्ने । यस्तो दोधारे स्थितिमा के गर्ने ? जब तपाईंले रक्सीको मात्रा कम गर्ने वा छाड्ने निर्णय गर्नुभएको छ ।

यसबेला काइदाको बहाना हुन्छ, जरुरी घरायसी काम भएको भन्ने । जुन दिन वा समयमा तपाईंलाई रक्सी पिउनका लागि निम्तो गरिन्छ, हठात् तपाईंले सो दिन आफ्नो घरमा जरुरी काम परेको भनी बहाना बनाउन सक्नुहुन्छ ।

दुई : एन्टिबायोटिक खाइरहेको छु भन्ने

रक्सी पिउने साथीहरूको माझमा हुनुहुन्छ । त्यहाँबाट तपाईं सहजै उम्कन सक्नुहुन्न । पियक्कडहरू एकदम उदार हुन्छन्, रक्सी पिलाउनका लागि । तपाईंले जतिसुकै नाइनास्ती गरेपनि उनीहरूले गिलास भरिदिन्छन् ।

यस्तो अवस्थामा के गर्ने ? गोप्य बहाना हुनसक्छ, एन्टिबायोटिक खाइरहेको छु भन्ने । एन्टिबायोटिक खाइरहेको अवस्थामा रक्सी पिउनु घातक हुनसक्छ भनी साथीभाइलाई बुझाउन सहज हुन्छ । किनभने साथीभाइले रोग वा स्वास्थ्य समस्याको विवरण खोजिरहँदैनन् ।

तीन : श्रीमतीलाई खुसुक्कै फोन गर्न लगाउने

मानौँ तपाईं रक्सीको जमघटमा मिसिनुभएको छ । त्यहाँ पिउनैपर्ने बाध्यता पनि छ । तर, तपाईं रक्सीको मात्रा घटाउने वा छाड्ने मनासयमा हुनुहुन्छ । अब तपाईंका लागि काइदाको उपाय हुनसक्छ, रक्सी पिउन बसेको केही समयमा श्रीमतीलाई फोन गर्न लगाउने ।

घरमा जरुरी काम भएकाले तुरुन्त आउनु भन्ने आशयसहितको खबर, त्यो पनि साथीभाइले सुन्नेगरी । यदि अविवाहितको हकमा भने घरपरिवारका सदस्य वा कार्यलयका सहकर्मीलाई खुसुक्कै फोन गरेर यस्तो काइदा अपनाउन सक्नुहुन्छ ।

चार : टाउको दुखेको अभिनय गर्ने

यसका लागि तपाईंसँग थोरबहुत अभिनय क्षमता भए काइदा हुन्छ । अलि अनुहार बिगार्ने, थोरै बोल्ने वा कुनै समस्या भएको जस्तो गर्नुपर्ने हुन्छ । जब साथीभाइ वा कसैले रक्सी पिउनैपर्ने बाध्यतामा पुर्‍याउँछ, तब तपाईंले आफूलाई अलि सन्चो नभएको बहाना बनाउन सक्नुहुन्छ । तर, यस्तो बहाना सधैँभरि भने काम लाग्दैन ।

पाँच : निर्धारित समयभन्दा धेरै अबेर पुग्ने

मदिराका लागि कतै जमघट हुँदैछ । साथीभाइले तपाईंलाई ‘जसरी पनि आउनैपर्छ’ भनी दबाव दिएका छन् । त्यहाँ पुगेपछि तपाईँले जतिसुकै बहाना गरेपनि साथीभाइले छाड्ने स्थितिमा छैन ।

यस्तो स्थितिमा कुनै कामको बहाना बनाएर निर्धारित समयभन्दा धेरै अबेर पुग्ने । यसो गरेपछि साथीभाइको उठ्ने समय भइसकेको हुनसक्छ, तपाईं रक्सी पिउनबाट सहजै जोगिने सम्भावना हुन्छ ।

छ : गाडी वा बाइक चलाउनुपर्छ भन्ने 

कसैले रक्सी पिउनका लागि बोलाएको छ । त्यहाँ जानैपर्ने अवस्था भयो । अब तपाईंले के गर्न सक्नुहुन्छ भने आफूसँग भएको सवारी साधन लिएर जाने ।

यसो गरेपछि त्यहाँ रक्सीको ठाउँमा अन्य हल्का पेय पिउन सकिन्छ । किनभने मापसे गरेर गाडी चलाउन हुँदैन भनेर त साथीभाइलाई थाहा नहुने कुरै भएन ।

तीन काइदा, रक्सीको मात्रा कम गर्ने

सधै बहानाले मात्र काम गर्दैन । यस्तो स्थितिमा कसरी रक्सीको मात्रा कम गर्ने ? यसका लागि तीन वटा काइदा छन् ।

१. रक्सी पिउनुअघि भरपेट पानी पिउन सकिन्छ । टन्न पानी पिएपछि रक्सीको असर पनि कम हुन्छ ।

२. रक्सीको गिलास उठाउनेभन्दा पनि स्न्याक्सको रुपमा राखिएको सलाद वा फलफूलमा बढी हात लगाउनुहोस् । भरपेट सलाद वा फलफूल खानुहोस्, रक्सीको मात्रा कम गर्न सकिन्छ ।

३. सबैले रक्सीको गिलास उठाइसके । तपाईंको भागमा नपर्ने कुरै भएन । यसबेला तपाईं कुनै बहाना बनाएर रक्सी पिउनुअघि कफी वा हल्का पेय माग्नुहोस् । यसले पनि रक्सीको मात्रा र असर कम गर्न सकिन्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?