
१३ फागुन, काठमाडौं । बागमती प्रदेश सरकार सहजीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेले बनाएको दुई दलीय संयन्त्रले सरकारलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको छ ।
संयन्त्रका संयोजक नेकपा एमाले बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराईको अध्यक्षतामा मंगलबार ललितपुरमा बसेको बैठकले सहमतिमै राजनीतिक नियुक्तिलगायतका प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ ।
बैठकले प्रदेश सरकार अन्तर्गतका विभिन्न निकायहरूमा हुनुपर्ने राजनीतिक नियुक्ति समयमा नहुँदा प्रदेश सरकारका काम प्रभावकारी हुन नसकेको समीक्षा पनि गरेको नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
प्रदेश सरकारले तय गरेका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न र न्यून पुँजीगत खर्च बढाउन छिटो, छरितो एवं प्रभावकारी तबरले योजना कार्यान्वयन गर्न बैठकले निर्देशन दिएको छ ।
गत ११ देखि १३ असोजसम्म आएको वर्षा र बाढीबाट क्षति भएका संरचना पुनर्निर्माण र विस्थापितहरूको पुनस्र्थापना गर्ने कार्यलाई तीव्रता दिन तथा विपद् जोखिम व्यवस्थापनका लागि पूर्वतयारी कार्य अघि बढाउन बैठकले निर्देशन दिएको सभापति बानियाँले जानकारी दिए ।
बागमती प्रदेश भित्र रहेका समस्याग्रस्त सहकारीहरूको यथार्थ अवस्था पहिचान गर्न तथा सहकारीमा भएको कारोबारका कारण कोही पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था गर्ने कार्यलाई अझ सुदृढ र व्यवस्थित रूपमा अगाडि बढाउन पनि संयन्त्रले प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
प्रदेश सरकारले अगाडि बढाएका योजना तथा कार्यक्रमहरू अन्तर्गत भौतिक निर्माणका काममा कानुनी जटिलता फुकाउने काम अघि बढाउन संघीय संयन्त्रलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको सभापति बानियाँको भनाइ छ ।
बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा र बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन सहभागी थिए । यस्तै, नेकपा एमालेको तर्फबाट नेकपा एमाले बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंङ्गेल तथा आमन्त्रित सदस्यको रूपमा बागमती प्रदेशका मन्त्री प्रकाश श्रेष्ठ सहभागी थिए ।
प्रतिक्रिया 4