
१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक एकसाताका लागि स्थगित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले अर्को बैठक यही २१ फागुन दिउँसो १ बजे बस्ने जानकारी गराए ।
संघीय संसद्ले संसदीय क्यालेन्डर बनाउँदै आएको छ । प्रतिनिधिसभाले १५/१५ दिनको पाक्षिक क्यालेन्डर बनाउँछ । क्यालेन्डर अनुसार १५ फागुनसम्मको तयार भएको थियो । जसमा मंगलबारसम्म बैठक बस्ने तय भएको थियो । १६ फागुनदेखि ३० फागुनसम्मको क्यालेन्डर बन्न बाँकी छ ।
यसबीचमा एकसाताको समय राखेर अर्को बैठक राखिएको हो ।
नेताहरूका अनुसार २१ फागुनमा पनि नियमित बैठक बस्ने गरी केही ढिलो राखिएको हो । अब बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गरिने पनि सत्तारुढ दलका नेताहरू बताउँछन् ।
सरकारले संसद् अधिवेशन बोलाउनु अगाडि विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।
ती अध्यादेश अधिवेशन सुरु भएको दिन गत १८ माघमा दुवै सदनमा पेस भइसकेको छ । अब दुवै सदनबाट स्वीकृत गराएर सरकारले प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ ।
तर, अध्यादेश संसद्बाट स्वीकृत गराउने सकस कायमै छ । यसकारण अध्यादेश संसद्मा अगाडि बढ्न सकेको छैन ।
खासगरी राष्ट्रिय सभामा रहेको संसदीय अंकगणितका कारण सरकारलाई अध्यादेश अगाडि बढाउन सकस परेको हो । राष्ट्रिय सभाको अर्को बैठक यही १८ फागुनका लागि बोलाइएको छ ।
अध्यादेश स्वीकृत गराएर सरकारले प्रतिस्थापन विधेयक ल्याएर पास गरेपछि अध्यादेशले संशोधन गरेका र नयाँ व्यवस्था गरेका कानुनी प्रावधानले निरन्तरता पाउँछन् । तर, यसका लागि सरकारलाई संसद् अधिवेशन सुरु भएपछि ६० दिन मात्रै समय हुन्छ ।
संसद् अधिवेशन गत १८ माघदेखि सुरु भएको थियो । अब प्रतिनिधिसभाको अर्को बैठक २१ फागुनका लागि तय भएको छ ।
२१ फागुनमा नै प्रतिनिधिसभाले अध्यादेश स्वीकृत गरेको खण्डमा सरकारसँग प्रतिस्थापन विधेयक ल्याएर पास गर्ने समय २७ दिन बाँकी रहनेछ ।
२१ फागुनमा प्रतिनिधिसभाले अध्यादेश स्वीकृत गरेको खण्डमा त्यसको २७ दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पास गराएर ऐनमा रुपान्तरित गरिसक्नुपर्छ । अन्यथा, अध्यादेश गरेका व्यवस्थाहरू स्वतः निष्क्रिय हुनेछन् ।
प्रतिक्रिया 4