१३ फागुन, काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
युईएफए प्रो लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षण गरेको अनुभव छ ।
धनगढी एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि जुआन मार्टिनेजले मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए । ‘धनगढी प्रशिक्षक नियुक्त हुँदा म खुशी छु । समर्थकहरुका लागि एनएसएल यादगार सिजन बनाउन हामी स्पानिस स्वादसँगै नेपाली फुटबल शैलीलाई मिलाउन प्रयास गर्नेछौँ ।’ धनगढी एफसीले जारी गरेको विज्ञप्तीमा मार्टिनेजले भनेका छन् ।
यस्तै धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले मुख्य प्रशिक्षकको रूपमा म्यानुएललाई नियुक्त गर्न पाउँदा उत्साहित रहेको भन्दै यस संस्करणमा क्लबलाई नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास व्यक्त गरे । ‘हामीलाई विश्वास छ उनले एनएसएलको तेस्रो संस्करणमा धनगढीलाई नयाँ उचाईमा पुर्याउनेछन् ।’ उनले भने ।
धनगढी एफसीले यसअघि युवा मिडफिल्डर कृतिश रत्न छुन्जुलाई आफ्नो नयाँ मार्की प्लेअरको रुपमा नियुक्त गरिसकेको छ ।
त्यस्तै लेबनानी फरवार्ड अहमद हिजाजीलाई लेबनानी प्रिमियर लिग टोली बोर्ज एफसीबाट लोनमा अनुबन्ध गरेको छ। हिजाजीले यसअघि पनि धनगढीबाटै एनएसएल खेलेका थिए ।
एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदैछ । जसमा धनगढी सहित ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4