
करिब दुई हप्ताअघि जङ्गली हात्ती मकुनाको निकुञ्जकै सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएको थियो। बस्ती छिरेको हात्तीलाई तर्साउन चलाइएको गोली लागेर हात्तीको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जको दावी छ ।
पछिल्ला केही दिनयता एउटा बीभत्स भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको वासस्थानमा रहेको ३० वर्षीय भाले हात्ती मृत अवस्थामा फेला परेको थियो।
त्यही हात्तीको पोस्टमार्टम गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ। जहाँ हात्ती अचेत अवस्थामा भुईँमा बसिरहेको छ। एउटा स्काइभेटरले त्यस हात्तीको शरीर खोतलेर आन्द्राभुँडी बाहिर निक्लेको छ, रगत बगिरहेको छ।
लगत्तै फागुन ८ गते कञ्चनपुरको लालझाडीमा एउटा जङ्गली हात्ती मृत फेला परेको थियो। यसरी एक पछि अर्को जङ्गली हात्ती मर्दै जानु सामान्य दुर्घटना मात्र हो वा नियोजित हो ? यस विषयमा सरोकारवालाहरूको फरक–फरक मत छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग भन्छ–आत्म सुरक्षाका लागि गरिएको फायरका कारण मकुनाको मृत्युभयो र अन्य हात्तीको मृत्यु भने स्वभाविक ढङ्गले भएको हो।
तर, पशु अधिकारकर्मी भने हात्तीहरूको मृत्यु स्वभाविक मात्र नभएर अन्य कारण पनि हुनसक्ने आशंका गर्छन्। चितवनका पशु अधिकारकर्मी सुराजन श्रेष्ठ भन्छन्, ‘केही हप्ताअघि मकुना सौराहा बजारमा दौडिएका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए।’
श्रेष्ठका अनुसार वन्यजन्तुका लागि पुस, माघ प्रजननको मुख्य समय मानिन्छ। त्यही भएर मकुना पर्यटन व्यवसायीले पालेको पोथी हात्ती खोज्दै र उनीहरूलाई भगाउन घर र पर्खालहरू भत्काइदिने गरिहरेको थियो। त्यसले गर्दा निकुञ्ज प्रशासन र प्रहरी प्रशासनलाई गाह्रो भइरहेको थियो।
हात्तीको आक्रमणबाट बच्नका लागि आत्मरक्षाको लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो। तर, त्यसबाहेक पनि अन्य कारण छ कि भनेर छानबिन गर्नुपर्ने श्रेष्ठ बताउँछन्।
‘मकुनाको मृत्यु भएको दुई हप्ता नबित्दै अन्य दुई जङ्गली हात्तीको मृत्यु भएको छ’ श्रेष्ठ भन्छन्, ‘बर्दियामा त झन् हात्ती बसेकै अवस्थामा मृत्यु हुनु सामान्य कारणले नहुन सक्छ। अर्को हात्तीको मृत्यु विद्युतीय तरबारको कारण भएको हो भन्ने सुन्नमा आएको छ। यस्तोमा हात्ती लगायतका वन्यजन्तुको सुरक्षामा निकुञ्जले किन ध्यान नदिएको भन्ने प्रश्न उठ्छ।’
मकुना हात्ती मारिएको विषयमा सरकारले छानबिन समिति पनि बनाएको छ। छानबिन समितिमा सरकारका मान्छेहरू मात्र रहेकाले त्यसमा पशु कल्याणको क्षेत्रमा काम गर्ने व्यक्ति पनि हुनपर्ने माग आफूहरुको रहेको श्रेष्ठले बताए।
लगातार जङ्गली हात्तीको मृत्यु हुनुको कारण पत्ता लगाउन समितिले निष्पक्ष छानबिन गर्नुपर्ने पशु कल्याण सङ्घकी अध्यक्ष तथा स्नेहाज केयरकी सञ्चालक स्नेहा श्रेष्ठ बताउँछिन्।
‘रेडियो कलर लगाएको हात्ती कहाँ जाँदै छ भन्ने कुरा निकुञ्ज प्रशासनलाई थाहा हुन्छ’ श्रेष्ठ भन्छिन्, ‘यस्तोमा सेल्फ डिफेन्समा गोली चलाइयो भन्ने जुन अभिव्यक्ति छ, त्यसलाई हामी घोर भत्र्सना गर्छौँ।
’ मकुनालाई घाँटीमा नै गोली लागेकाले नियन्त्रणमा लिने विकल्पतिर नसोचेको देखिने श्रेष्ठको भनाइ छ। ‘उसलाई शान्त गरेर नियन्त्रण गर्न सकिन्थ्यो होला’ श्रेष्ठ भन्छिन्, ‘बेहोस बनाउन सकिन्थ्यो होला वा घुँडामुनि पनि गोली हान्न मिल्थ्यो होला। तर यसो गरिएन, त्यसैले हामी यसलाई सुनियोजित ढङ्गले मारिएको भन्छौँ।’
यसरी लगालगी जङ्गली हात्तीहरूको मृत्यु हुनु सामान्य नभएको श्रेष्ठको तर्क छ। ‘जङ्गली हात्तीले बस्तीमा पसेर दुख दियो भनेको समाचार धेरै सुनेका छौँ’ श्रेष्ठ भन्छिन्, ‘वन्यजन्तु र मान्छेको बीच द्वन्द छ। यस्तोमा लगातार जङ्गली हात्तीको मृत्यु हुनु सामान्य मात्र नहुन सक्छ।’
मान्छेहरूले नाउँमा वन्यजन्तु हिँड्ने बाटोमा, पानी खाने ठाउँमा बस्ती बसाएपछि हात्ती त्यहाँ हिँडेको उनको भनाइ छ।
‘उनीहरूले दुख दियो भनेर उनीहरूलाई भगाउन आगोको गोला हान्ने, गोली हान्ने गर्नु हुँदैन’ श्रेष्ठ भन्छिन्, ‘यसरी लगातार जङ्गली हात्ती मर्नु सामान्य भन्दा पनि सुनियोजित ढङ्गले नै मारेको आशङ्का गर्ने ठाउँ छ।’
उनीहरू कसरी मरे भन्ने विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने श्रेष्ठ बताउँछिन्।
छानबिन भयो रिपोर्ट आएको छैन
मकुनाको मृत्यु भएपछि मृत्युको कारण पत्ता लगाउन छानबिन समिति नै बनेको छ।
त्यो छानबिन समितिले फिल्ड भिजिट गरेर छानबिन पनि गरिसकेको छ। रिपोर्ट भने नआइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग प्रवक्ता, उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए।
ढकालका अनुसार बर्दियाको हात्ती अर्को जङ्गली हात्तीसँग जुधेर मृत्यु भएको सुन्नमा आएको छ। बर्दियाको हात्तीको पोस्टमार्टम पनि गरिएको छ। त्यसको रिपोर्ट आएपछि मात्र थप छानबिन गर्नुपर्छ कि पर्दैन भन्ने तय हुने उनले बताए।
‘पोस्टमार्टममा हात्ती अर्को हात्तीसँग जुधेको कुरा पुष्टि भयो भने थप छानबिन गर्नु परेन’ ढकाल भन्छन्, ‘तर, शङ्कास्पद खालको रिपोट आएको खण्डमा थप छानबिन गर्नुपर्छ।’
पछिल्लो समय हात्तीको संरक्षण धेरै चुनौतीपूर्ण देखिएको छ। बस्तीमा पसेर हात्तीले दुख दियो भनेर धपाउन उनीहरूलाई यातना दिने गरेको पनि पाइन्छ। तर, वन्यजन्तु संरक्षणको दायित्व पनि मान्छेहरूकै भएकाले हामीले नै उनीहरुको संरक्षण गर्नुपर्ने ढकाले बताए।
प्रतिक्रिया 4