
काठमाडौं । कलाकार बुद्धि तामाङ ‘हैट’ले निर्माण गर्न लागेको फिल्म ‘कुस्ती’को छायांकन मंगलबारदेखि सुरु भएको छ । मातातीर्थमा शुभसाइत पूजासहित छायांकन सुरु भएको हो ।
पहिलो दिन धीरज मगर, पुष्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरू गरिएको पटकथा लेखक एवं निर्देशक अनिल योञ्जनले बताए । सहरको कथा भएकाले काठमाडौँ आसपासमा छायाङ्कन गरिने उनले बताए । एक जोडीको प्रेम सम्बन्धको कथावस्तुमा फिल्म बन्न लागेको हो ।
‘एक जोडी एकअर्कालाई धेरै माया गर्छन्, आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, निर्देशक योञ्जनले भने ।
४५ दिनको छायांकन सेड्युल तय छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दिकिला शेर्पा, रवीन्द्र झा, पुष्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेनछ ।
पहिलोपटक फिल्म निर्माणमा हात हालेका बुद्धिले उत्साहसँगै नर्भस रहेको अनुभव सुनाए । उनले भने, ‘कलाकारितामा बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गरेको छु । राम्रो कथा र राम्रो टीम पाएकाले निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पुरा भएर पर्दामा आउदै छ’ उनले भने ।
उमङग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् ।
फिल्म आउँदो आउँदो भदौमा प्रदर्शन हुने जनाइएको छ ।
प्रतिक्रिया 4