
१३ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघीय क्षेत्रीयस्तरको युवा संसद् सम्मेलनमा सहभागी हुन रास्वपा सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान गरेका छिन् ।
क्षेत्रीयस्तरको यूएन युथ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गौतम मंगलबार बैंकक प्रस्थान गरेकी हुन् ।
बैंककस्थित राष्ट्रसंघको क्षेत्रीय कन्फरेन्स हलमा तीन दिने (२६, २७, २८ फ्रेबअरी) रिजनल युथ पार्लियामेन्ट इन क्लाइमेट एक्सन डाइलग हुँदैछ ।
यो कार्यक्रममा नेपालको संसद्बाट गौतमले प्रतिनिधित्व गरेकी हुन् ।
कार्यक्रममा नेपालबाट अन्य क्षेत्रका युवा प्रतिनिधिहरू पनि सहभागी छन् ।
सम्मेलनमा सांसद गौतमले बुधबार मलेसिया र इण्डोनेसियाका प्रतिनिधिसहित जलवायु परिवर्तन, क्लामेट पोलिसीका सन्दर्भमा नेपालका तर्फबाट बोल्ने कार्यक्रम छ ।
‘एसियाको क्लाइमेट इस्यू सबैतिर उस्तै छ । हामीले यसअगाडि भर्चुअल रूपमा आ–आफ्नो देशले के कस्तो गरिरहेको छ भनेर छलफल गरिरहेका थियौं,’ सांसद गौतमले भनिन्, ‘अहिले चाहिँ सम्मेलनमै उपस्थित भएर जलवायु परिवर्तनको असर, रोकथामका लागि भइरहेको प्रयास र नवीन आइडियाहरू आदानप्रदान गर्नेछौं ।’
यसले सबै देशका प्रतिनिधिलाई सिकाइ र सामूहिक प्रयास थप मजबुत हुने सांसद गौतमको विश्वास छ ।
कार्यक्रममा चाइना, फिलिपिन्स, मलेसिया, इण्डोनेसिया, श्रीलंका, सिंगापुर, नेपाल, हङकङ, भारत, भुटानलगायत १२ देशका युवा प्रतिनिधि सहभागी छन् ।
गौतम शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया 4