१३ फागुन, काठमाडौं । इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपालले म्यानमारको सामना गर्दैछ । चार राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल र म्यानमार अपराजित रहँदै फाइनल पुगेका हुन् ।
लिग चरणमा नेपाल र म्यानमार दुवैले कीर्गिस्तान र लेबनानलाई पराजित गरेका थिए । यी दुई टोलीको खेल भने २-२ को बराबरीमा सकिएको थियो । नेपालले कीर्गिस्तान र लेबनानलाई समान १-० ले पराजित गर्दा म्यानमारले लेबनलाई ३-१ र म्यानमारलाई ५-० ले पराजित गरेको थियो ।
लिग चरणमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएकोले फाइनल खेल अझ रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । तर नेपालले अहिलेसम्म म्यानमारलाई हराउन सकेको छैन ।
घरेलु मेदान अनि हजारौं समर्थकको साथमा नेपालले म्यानमारलाई हराउँदै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य राखेको छ । त्यसका लागि आफूभन्दा वरियतामा ४८ स्थान माथि रहेको टिमलाई नेपालले हराउनुपर्नेछ । नेपाल फिफा वरियतामा १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा छ ।
नेपाल र म्यानमारबीच अहिलेसम्म ५ खेल भइसक्दा नतिजा नेपालको पक्षमा आएको छैन । नेपाल जितविहिन छ । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।
यी दुई टोलीबीच भएको पछिल्लो खेल यही च्याम्पियनसिप अन्तर्गत नै भएको थियो जुन २-२ को बराबरीमा सकिएको थियो ।
यसअघि सन् २०१८ मा नेपाल र म्यानमार पहिलो पटक एसियाली क्षेत्रको ओलम्पिक छनोटको पहिलो चरणमा खेलेका थिए । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।
बिचको बाँकी तीन खेल भने म्यानमारले जितेको थियो । सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपमा पनि नेपाल र म्यानमारबीच दुई खेल भएको थियो । समूह चरणमा ३-० ले पराजित भएको नेपालले फाइनलमा एक गोल गरेपनि ३-१ ले पराजित भयो ।
यस्तै २०१९ मै भएको एसियाली क्षेत्रको ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल म्यानमारसँग ३-१ ले नै पराजित भएको थियो ।
अहिलेसम्म नेपाल र म्यानमारबीचको पाँच खेलमा म्यानमारले १२ गोल गरेको छ भने नेपाल ५ गोल फर्काएको छ । एक खेलमा भने नेपालले म्यानमारविरूद्ध गोल गर्न सकेन ।
नेपाल र म्यानमार अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा खेल्न लागेको पनि यो दोस्रोपटक हो । यसअघि सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपको पहिलो पटक यी दुई टोली फाइनलमा भेडेका थिए ।
हेड टु हेड
खेल : ५
म्यानमार जित : ३
बराबरी : २
नेपाल जित : ०
दुई टिमबीचको खेलको नतिजा
एएफसी ओलम्पिक क्वालिफायर फस्ट राउण्ड, २०१८ नोभेम्बर
नेपाल १-१ म्यानमार
एएफसी ओलम्पिक क्वालिफायर सेकेण्ड राउण्ड, २०१९ अप्रिल
नेपाल १-३ म्यानमार
हिरो वुमन्स गोल्डकप, २०१९ फेब्रुअरी
समूह चरण : नेपाल ०-३ म्यानमार
फाइनल : नेपाल १-३ म्यानमार
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप, २०२५ फेब्रुअरी
नेपाल २-२ म्यानमार
प्रतिक्रिया 4