
१४ फागुन, काठमाडौं । माटोमा नगल्ने र जलाउँदा पनि खराब धुँवा निस्किने भएकाले प्लास्टिक वातावरण प्रदूषणका लागि सबैभन्दा खराब मानिन्छ । हाम्रो जीवनको अभिन्न अंग बनिसकेको प्लास्टिकको प्रयोग बन्द गर्न सहज भइरहेको छैन । कतिपय देशले प्लास्टिक संकलन गरेर पुनः प्रयोगमा ल्याइरहेका छन् ।
तर जडीबुटी प्रयोग गरेर प्लास्टिकलाई खरानी पनि बनाउन सकिन्छ भन्ने थाहा पाउँदा तपाईंलाई झट्ट विश्वास नलाग्न सक्छ । तर एक महिलाले यही कामलाई प्रमाणित गरिदिएकी छन् ।
ती महिला हुन्– भारतको जम्मु–कश्मीरस्थित कुलगाम जिल्लाको कानिपोरा गाउँकी ५३ वर्षीया नासिरा अख्तर । उनको जन्म १ फेब्रुअरी १९७२ मा भएको थियो ।
प्लास्टिकलाई खरानी बनाइदिने वातावरणमैत्री विधि पत्ता लगाउन उनलाई ८ वर्ष, ७ महिना र ५ दिन (१ अक्टोबर १९९९ देखि ६ मे २००८ सम्म) लागेको थियो । यो विधि उनले सन् २०२०को जुलाई ४ मा प्रमाणित गरेर देखाएकी थिन् ।
प्लास्टिकको फोहोरको उचित व्यवस्थापनमा योगदान पुर्याएवाफत् उनले सन् २०२२ मा भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दबाट ‘नारी शक्ति पुरस्कार’ पाइन् ।
साथै उनको नाम ‘इन्डिया बुक अफ रेकर्ड्स’मा ‘पोलिथिनलाई खरानीमा बदल्ने पहिलो भारतीय महिला’को रूपमा दर्जसमेत भएको छ ।
उनको सफलताको कथा उनकै शब्दमा–
मैले सुन्दै आएकी थिएँ कि शब्दहरूले मानिस र उनीहरूका विचारलाई बदल्न सक्छन् । जबसम्म यो मेरो आफ्नै जीवनमा लागू भएन, मैले यसलाई खासै महत्त्व पनि दिएकी थिइनँ ।
President Kovind presented Nari Shakti Puraskar to Nasira Akhter for grassroot innovation in environmental conservation. Hailing from Kulgam, Jammu and Kashmir, she developed a herb that converts polythene to ashes, thereby making polythene biodegradable. pic.twitter.com/idnymWMXZT
— President of India (@rashtrapatibhvn) March 8, 2022
झण्डै दुई दशक अगाडि, मेरो गाउँमा अभिभावकहरू आफ्ना छोरीहरूको विवाह कम उमेरमै गरिदिन रुचाउँथे । मेरा बाबु–आमाको सोचाइ पनि त्यही थियो । त्यसैले मैले म्याट्रिक परीक्षा पूरा गर्नासाथ १९ वर्षको उमेरमै मेरो बिहे भयो ।
एक शान्त साँझमा, मेरा पति रेडियोमा क्षेत्रीय प्रसारण सुन्दै थिए । रेडियो कार्यक्रममा एक वातावरणविद् भन्दै थिए, ‘यस संसारमा भगवान र पोलिथिनबाहेक अरू सबै चीज नष्ट हुन्छ ।’
जब मैले यी शब्दहरू सुनेँ, म बेचैन भएँ । मेरो मनमा प्रश्न उठ्यो– ‘मानिसले बनाएको निर्जीव वस्तुको तुलना कसरी हाम्रो जीवित सृष्टिकर्तासँग गर्न सकिन्छ ?’
यही सोचाइबाट मैले पर्यावरणमैत्री रूपमा पोलिथिन नष्ट गर्ने तरिका खोज्न थालें ।
यस ब्रह्माण्डमा हरेक चीज प्रकृतिको नियमअनुसार चल्छ । यदि पोलिथिन बनाइएको छ भने, त्यसलाई नष्ट पनि गर्न सकिन्छ भन्ने सोचेर मैले आफ्नो खोज सुरु गरें ।
तर, मानिसहरूले मेरो मजाक उडाए । मलाई गाली गरे । तर म रोकिएन । मेरा पति किराना पसलमा काम गरिरहेकावेला म भने प्लास्टिक नष्ट गर्ने उपायहरूको खोजी गर्थें । मैले आफ्नो कोठालाई प्रयोगशालाजस्तो बनाएँ ।
लामो र कठोर अनुसन्धानपछि, मैले एक जडीबुटी पत्ता लगाएँ ।
त्यो हप्ताभरि म धेरै पटक घर बाहिर गएँ, पोलिथिनका झोलाहरू र फोहोर जम्मा गरेँ । अनि जब मैले जडीबुटीको मिश्रण त्यसमा छर्कें । पोलिथिन कागजजस्तै जल्दै गयो ।
त्यही बेला मैले बुझेँ कि मैले प्रदूषण फैलाउने प्लास्टिक व्यवस्थापनको समाधान भेट्टाइसकेकी छु ।
तर, संसारलाई मेरो काममा विश्वास दिलाउनु, त्यसलाई पत्ता लगाउनुभन्दा धेरै कठिन भयो ।
मेरो साधारण शैक्षिक पृष्ठभूमि ठूलो बाधा सावित भयो ।
मैले शिक्षक, प्राध्यापक र विद्यार्थीहरूसँग आफूले पत्ता लगाएको कुरा गरें । तर, उनीहरूले मेरो मजाक उडाए ।
अपहास, लज्जा, मजाक– यी सबै मैले भोगेकी छु ।
कसैले मेरो शैक्षिक योग्यता माथि प्रश्न उठाए, त कसैले भने– यस्ता विषयहरूमा अनुसन्धान गर्न त एक वैज्ञानिक हुनुपर्छ ।
मलाई वैज्ञानिक शब्दको समेत राम्रो ज्ञान थिएन । अनि म राम्रो वक्ता पनि थिइनँ । तर, मैले कहिल्यै आशा र धैर्य गुमाइनँ ।
मलाई थाहा थियो कि म सफल भइसकेकी छु ।
मलाई बस, जडीबुटीले कसरी काम गर्छ भन्ने सही रूपमा प्रमाणित गरेर देखाउनु थियो ।
त्यसैले, म मेरो गाउँबाट लगभग ८० किलोमिटर टाढा कश्मीर विश्वविद्यालय गएँ ।
त्यहाँ प्रदर्शन गरेपछि, प्रोफेसर मोहम्मद यूसुफले मलाई दिल्ली विश्वविद्यालयको ‘युनिभर्सिटी साइन्स इन्स्ट्रुमेन्टेसन सेन्टर’ (यूएसआईसी) जान सल्लाह दिनुभयो ।
त्यहाँ, मैले विज्ञहरूको टोलीसामु प्रत्यक्ष प्रयोग गरेर देखाएँ । मैले जडीबुटीलाई पानीमा मिसाएर प्लास्टिकको थुप्रोमा छर्कें । प्लास्टिक जल्दै खरानी भयो । त्यसबाट कुनै गन्ध आएन र धुवाँ पनि निस्किएन ।
मेरो आविष्कार देखेर विज्ञहरू आश्वस्त भए र मलाई ‘पेटेन्ट राइट’को लागि आवेदन दिन सुझाए ।
अन्ततः, मेरो मिहिनेतको पहिचान गरिएको अनुभूति भयो ।
मैले भन्नैपर्छ, संसार दयालु छ र म यसबाट अत्यन्तै खुसी छु ।
मैले जडीबुटीमा प्लास्टिक नष्ट गर्ने उपायलाई ‘अनसँग इनोभेटर्स अफ कश्मीर’ पुस्तकमा समावेश गरिएको छ ।
मेरो नाम ‘इन्डिया बुक अफ रेकर्ड्स’ मा ‘पोलिथिनलाई खरानीमा बदल्ने पहिलो भारतीय महिला’ को रूपमा दर्ता गरिएको छ ।
यससँगै, ‘एसिया बुक अफ रेकर्ड्स’ र ‘कलाम्स बुक अफ रेकर्ड्स’ मा पनि मेरो नाम उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको दिन भारतका राष्ट्रपतिबाट प्राप्त ‘नारी शक्ति पुरस्कार’ पाउनु मेरा लागि एक महत्वपूर्ण सम्मान हो ।
साँच्चै, मेरो खोजले नयाँ अवसरको ढोका खोलेको छ ।
मैले आफ्नो उत्पादनलाई व्यवसायिक बनाउन एक राष्ट्रिय कम्पनीसँग सम्झौता गरिसकेकी छु ।
मैले एक गोपनीयताको सम्झौता गरेकाले, प्लास्टिक गलाउन प्रयोग गरिने जडीबुटीबारे म धेरै जानकारी दिन सक्दिनँ ।
तर, यो उत्पादनले संसारलाई पोलिथिनको आतंकबाट अवश्य मुक्ति दिलाउने छ ।
(यो आलेख भिलेज स्क्वायर डट आईएनबाट भावानुवाद गरिएको हो ।)
प्रतिक्रिया 4