+
+
Shares

अर्को लफडामा मस्क, १३औं बच्चाको पिता दाबी गर्दै सर्वोच्च अदालत पुगिन् एक महिला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते ८:२०

प्रविधि जगतका दिग्गज व्यक्तित्व तथा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दाहिने हात मानिएका अर्बपति एलन मस्क निरन्तर चर्चामा रहिरहने नाम हो । तर, यसपटक चाहिं उनलाई चर्चामा ल्याएको विषय कुनै नयाँ प्रविधिको वा अन्तरिक्ष अन्वेषणको होइन । उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा आएका छन् ।

सेलिब्रेटी एश्ले सेन्ट क्लेयरले आफ्नो एक बच्चाको पिता एलन मस्क भएको भन्दै अमेरिकाको म्यानहटन सर्वोच्च अदालतमा एक निवेदन दर्ता गराएकी छिन् । आफ्नो ५ महिने बच्चाको पिता एलन मस्क भएको उनको दाबी छ । साथै उनले अदालतसँग बच्चाको पूर्ण संरक्षकत्वका साथै एलन मस्कको पितृत्व परीक्षणको आदेश दिन पनि माग गरेकी छिन् ।

न्युयोर्क पोस्टका अनुसार अदालतमा क्लेयरले पेस गरेका दस्तावेजमा मस्कको एउटा तस्वीर संलग्न छ, जसमा उनी एक नवजात बच्चालाई काखमा लिएको देखिन्छ । यसका अलावा मस्क र क्लेयरको बीचमा भएका भनिएका च्याट सम्वादहरु पनि अदालतमा पेस गरिएको छ, जसमा बच्चा जन्मिएपश्चात् मस्कले सबै कुरा ठीक छ नि ? भनेर क्लेयरलाई सोधेको कुरा पनि रहेको छ । साथै एउटा अर्को च्याटमा मस्कले आफू आमा(क्लेयर) र बच्चालाई छिट्टै हेर्नका लागि आतूर रहेको बताएका छन् ।

तर, मस्कले केवल तीन पटक मात्रै बच्चालाई हेरेको र त्यस बाहेक बच्चाका बारेमा कुनै परवाह नै नगरेको आरोप क्लेयरले लगाएकी छिन् । साथै बच्चाको जन्म प्रमाणपत्रमा सुरक्षाका कारणले गर्दा पिताको नाम खाली छाडिएको दाबी उनको छ । आफूलाई दिनहुँ ज्यानमार्ने धम्की आउने गरेको भनेर मस्कले बताउने गरेका कारण आफ्नो बच्चाको पिताको नाम प्रमाणपत्रमा नलेखिएको उनको जिकिर छ।

बच्चाका लागि कति समय निकाल्छन् एलन मस्क ?

एलन मस्कका यसअघि नै १२ जना बच्चा छन् । उनकी पूर्वपत्नी जस्टिन विल्सनबाट पाँचवटा बच्चा छन्, जसमध्ये दुईजना जुम्ल्याहा र तीनजना तिम्ल्याहा रहेका छन् । त्यसैगरी गायिका ग्रिम्सबाट उनका ३ जना बच्चा छन् भने क्यानेडाली भेन्चर पुँजीपति शिवोन जिलिससँग पनि उनका तीनजना बच्चा रहेका छन्। उनीहरुमध्ये दुईजनाको नाम सार्वजनिक भैसकेको छ भने एकजनाको गोप्य राखिएको छ ।

यसैबीच ग्रिम्ले हालै सोसल मिडिया प्लाटफर्म एक्समा मस्कसँग आफ्नो बच्चाको गम्भीर स्वास्थ्य अवस्थालाई लिएर सम्पर्क गर्न अपिल गरेकी थिइन् । मस्कले आफ्नो कुरा सुनेको नसुन्यै गरेकाले आफू सार्वजनिक रुपमा भन्न बाध्य भएको उनको भनाइ थियो ।

अब सेलिब्रेटी युवती एश्ले सेन्ट क्लेयरले आफ्नो बच्चाको पितृत्व प्रमाणीकरणका लागि अदालतमा मुद्दा हालेसँगै मस्कका लागि अर्को टाउको दुखाइको विषय बनेको छ ।

आगामी दिनमा मस्कले अदालतमा पितृत्वको यथार्थ पुष्टि र्नका लागि डिएनए टेष्ट गराउँछन् कि यो मामिला कुनै सम्झौतामा गएर टुंगिनेछ भन्ने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?