
नेकपा एमाले मार्क्सवादी दर्शनमा विश्वास गर्ने, जनताको बहुदलीय जनवादी सिद्धान्तको प्रकाशमा समाजवाद हासिल गर्ने उद्देश्यका साथ नेतृत्व गर्दै आएको पार्टी हो । यो पार्टी देश र जनताको समृद्धि, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सार्वभौमिकता, सम्प्रभुताको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा कटिबद्ध छ ।
आजको अस्थिरता, अराजकता, एक प्रकारको अवसरवादी चिन्तन–प्रवृत्ति र संगठनात्मक अराजकतालाई अन्त्य गर्दै मुलुकलाई समावादतर्फ लैजानका लागि विश्वास, भरोसा र आशा जागृत गर्दै अगाडि बढ्नुपर्ने परिस्थिति हाम्रो बीचमा छ । यही अवस्थामा नेकपा एमाले, नेपाली कांग्रेस लगायतका मुख्य राजनीतिक दलहरूको नेतृत्वमा अहिले सरकार चलिरहेको छ । र, सरकारले शान्ति सुव्यवस्था कायम गर्न र विकास निर्माणलाई गतिका साथ अगाडि बढाउन योजनाबद्ध रुपले काम गरिरहेको सर्वविदितै छ ।
नेकपा एमालेले, हामीले विगत लामो समयदेखि भन्दै आएको कुरा- पूँजीवाद संकटग्रस्त छ । पूँजीवादी संकटबाट आउन सक्ने खतरालाई रोक्न र पूँजीवादमा आएको संकटबाट उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई रोक्न हामीले काम गर्दै आएका छौं ।
राष्ट्रिय अर्थतन्त्रको विकास, रोजगारी सिर्जना, उद्यमशीलताको विकास, उद्योग स्थापना र समृद्धिका अनेक आधारहरू तयार गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै जानुपर्छ भन्ने पक्षमा हामीले काम गर्दै आइरहेका छौं । नेकपा एमालेले यही मान्यतालाई अगाडि सार्दै आइरहेको छ ।
पूँजीवाद संकटमा छ भन्ने विषय पछिल्लो समय निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेका विचार र त्यहाँबाट भएका निर्णयले पुष्टि गरेको छ ।
हामीले पहिलेदेखि भन्दै आएको पूँजीवाद संकटमा छ भन्ने विषय पछिल्लो समय निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेका विचार र त्यहाँबाट भएका निर्णयहरुले पुष्टि गरेको मैले महसुस गरेको छु ।
सामाजिक वेलफेयरका कार्यक्रमहरू रद्द गर्ने, डब्लूएचओका स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू रद्द गर्ने, दुई देशका बीचमा भएका सन्धि-सम्झौतालाई एकतर्फी रुपमा उल्लघंन गर्ने अनि यस्ता कार्यक्रमलाई ठगी धन्दा हुन् भनेर अमेरिकाले आफ्नै देशलाई ठगी गरिरहेको छ । र, संसारका विकसित राष्ट्रहरूमाथि समेत ठगी गरेको छ ।
यसरी अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिले विश्व पूँजीवाद संकटमा छ भन्ने कुरा थप पुष्टि गरेको छ भन्ने मैले महसुस गरेको छु । त्यसले पनि हामीलाई सुशासनको पक्षमा, समृद्धिको पक्षमा, भ्रष्टाचार, कमिसन जस्ता चिजहरूलाई नियन्त्रण गर्नको लागि अझै सशक्त ढंगले अगाडि बढ्नुपर्छ भन्ने कुरामा सचेत गराएको मैले महसुस गरेको छु ।
यसकारण अमेरिकी राष्ट्रपतिको भनाइले, उनका अभिव्यक्तिले अमेरिका हामीभन्दा पनि गरिब हुँदैछ । हामीभन्दा पनि, हाम्रो अर्थतन्त्रभन्दा पनि उसकोमा संकट बढ्दै गइरहेको छ भन्ने देखिन्छ ।
उसले वित्तीय पूँजीको आडमा सामरिक हातहतियार र विश्व समाजमा युद्धको त्रासबाट र अन्य विभिन्न क्रियाकलापहरूबाट बचाएको साम्राज्यवादी किल्ला, साम्राज्यवादी प्रवृत्ति अब ढल्दैछ, त्यो समाजबाट उखेलिँदैछ भन्ने कुरालाई यसले बताउन खोजिरहेको छ ।
हाम्रो संविधानमा हामीले लेखेको समाजवादउन्मुख व्यवस्था निर्माण जुन सचेततापूर्वक व्यवस्था गरिएको छ, त्यो संविधान निर्माणमा संलग्न भएका, संविधान निर्माण गर्ने काममा क्रियाशील भएका र यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको निम्ति आन्दोलनमा संलग्न भएका सबै दलहरू यो परिस्थितितर्फ सचेत हुनुपर्ने देखिएको छ ।
साथै, गणतन्त्र स्थापना गर्ने र संविधान निर्माणमा संलग्न दलहरु एकतावद्ध हुनुपर्ने र नेपालको स्वाधिनता, सार्वभौमिकता र नेपालको रक्षा र विकासका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्छ भन्नेमा हामीलाई सचेत गराएको छ । यसमा म सबैको ध्यानाकर्षण गर्न चाहन्छु र संसद्मा रहेका सबै राजनीतिक दलहरूप्रति यसतर्फ सचेत हुनको निम्ति आग्रह गर्न चाहन्छु ।
(मंगलबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद गैरेले प्रस्तुत गरेको विचारको अंश ।)
प्रतिक्रिया 4