+
+
Shares

महाभारत सर्किटको अवधारणा अघि बढाउन यादवको प्रस्ताव

यादवले भने- महाभारतमा उल्लेख गरिएका स्थलहरू– नेपालको विराटनगरमा रहेको राजा विराटको दरबारलाई कुरुक्षेत्र, इन्द्रप्रस्थ र हस्तिनापुर जस्ता भारतीय सहरहरूसँग जोड्न सकिन्छ, जसले दुवै देशको अर्को साझा इतिहासको रूपमा काम गर्न सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १६:४१

१४ फागुन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले महाभारत सर्किटको अवधारणा अघि बढाउन प्रस्ताव राखेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष समेत रहेका यादवले बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको महत्व रहेको बताए ।

भारतको नयाँ दिल्लीमा जारी ‘नेपाल–भारत सम्बन्ध र क्षेत्रीय कूटनीतिः बल र अवसर’ विषय कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाभारत सर्किटको अवधारणा अघि बढाउन प्रस्ताव राखेका हुन् ।

‘बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको संयुक्त प्रवर्द्धन गर्ने अवसर पनि छ । यसको चर्चा तुलनात्मक रूपमा कम छ,’ यादवले भने ।

महाभारत सर्किटको अवधारणाबारे चर्चा गर्दै उनले भनेका छन्, ‘पाण्डवसँग सम्बन्धित काठमाडौं उपत्यका वरपरका महाभारतमा उल्लेख गरिएका तीर्थस्थलहरू– नेपालको विराटनगरमा रहेको राजा विराटको दरबारलाई कुरुक्षेत्र, इन्द्रप्रस्थ र हस्तिनापुर जस्ता भारतीय सहरहरूसँग जोड्न सकिन्छ, जसले दुवै देशको अर्को साझा इतिहासको रूपमा काम गर्न सक्छ ।’

महाभारत सर्किटको अवधारणा अघि बढाउन दुई देशका बीचमा औपचारिक र अनौपचारिक संयन्त्र, सरकारस्तर र जनता स्तरमा सहकार्य आवश्यक रहेको उनले बताए ।

महाभारत सर्किटको अवधारणा अघि बढाउँदा यसले दुवै देशलाई आध्यात्मिक र सांस्कृतिक कूटनीतिका माध्यमबाट थप नजिक ल्याउने उनको विश्वास छ । यसका लागि नेपाल र भारत दुवैले पहल लिनुपर्ने उनको आग्रह छ ।

नेपाल र भारत दुवैले व्यापार, सीमापार व्यापार विस्तार, बजार पहुँच, पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान र जनताबीचको सम्बन्धलाई सहज बनाउन द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन समेत यो अवधारणाले सहयोग पुर्‍याउने उनको विश्वास छ ।

बौद्ध धर्म बौद्ध कूटनीतिको केन्द्रबिन्दु बन्न सक्ने र यसले नेपाल र भारतबीच साझा बौद्ध सम्पदालाई बौद्ध सर्किटमार्फत जोड्न सकिने यादवले बताए । यस अन्तर्गत बोधगया र लुम्बिनीसँग जोड्ने द्विपक्षीय सहयोगको सम्भावना रहेको उनको भनाइ छ ।

यो सर्किटलाई सडक, रेलमार्ग र हवाई सञ्जाल बढाएर संयुक्त रूपमा विश्वव्यापी तीर्थस्थलको रूपमा प्रवर्द्धन गर्न सकिने भन्दै उनले यसले पर्यटनको माध्यमबाट राजस्व मात्र बढाउन तथा दुवै देशका सांस्कृतिक सम्बन्ध र जनताबीचको सम्बन्धलाई पनि गहिरो बनाउने बताए ।

बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको संयुक्त प्रवद्र्धन गर्ने अवसर पनि रहेको भनेर यादवले महाभारत सर्किटको अवधारणा अगाडि बढाउनु थप प्रभावकारी हुन सक्ने बताएका हुन् ।

सम्बोधनका क्रममा यादवले भारतीय नागरिकहरूलाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका छन् । जलविद्युत्, उत्पादनमूलक क्षेत्र, पर्यटनलगायतका क्षेत्रहरूमा नेपालमा लगानी गर्न सकिने उनले सुझाए ।

नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय ऊर्जा सम्झौता भएको उल्लेख गर्दै उनले क्षेत्रीय सहयोगका लागि यसले बाटो प्रशस्त गरेको बताए । यो सम्झौताले साझा लाभका लागि दक्षिण एसियामा क्षेत्रीय सहयोगको नमूनाको रूपमा काम गर्न सक्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?