
काठमाडौं । चैत ८ देखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘द्रौपदी’ दर्शकमाझ प्रतीक्षित छ । यो फिल्म सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’का विजेता समेत रहेका गायक रवि ओडको डेब्यु फिल्म समेत हो ।
यो फिल्मको संगीत र अभिनयमा ओड संलग्न छन् । डोल्पाको शे फोक्सुन्डो लगायतका रमणीय थलोमा खिचिएको फिल्मले महिला संवेदनाको कथा पेश गरेको छ । जसमा ओडले कर्णालीकै एक पात्रको भूमिका निर्वाह गरेका छन् । ट्रेलर हेर्दा पनि उनको अभिनय खास हुने देख्न सकिन्छ ।
फिल्मले अर्गानिक कथावस्तु उठाएको र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको निर्देशक ऋषिराज आचार्यले बताएका छन् । फिल्ममा आश्विनी शाही, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको पनि अभिनय छ ।
‘कर्नाली काटौँला’ शीर्षकको गीतमा ओड र इन्द्रकला राईले स्वर दिएका छन्, जुन अहिले चर्चामा छ । आरबी मूभिजको ब्यानरम बनेको फिल्मबारे अभिनेता तथा गायकसँग गरिएको संक्षिप्त संवाद यस्तो छ :
‘द्रौपदी’ कस्तो फिल्म हो ?
‘द्रौपदी’ निकै ओजिलो शब्द छ । गह्रौँ छ । यसैबाट पनि फिल्मले गम्भीर विषय उठान गरेको छ भन्ने बुझिन्छ । हामीले महाभारतमा पढेको, हेरेको जुन पात्रको नाम छ, त्यसअर्थमा पनि फिल्ममा गहन कुरा छ भन्ने बुझ्नपर्छ । के छ भन्ने त फिल्म हेर्दासम्म रहस्यमै राख्दा ठीक होला । जे होस् यो टाइटललाई हामीले न्याय दिने कोसिस गरेका छौं ।
गायनमा मात्रै भविष्य नदेखेर अभिनयमा लाग्नु भएको हैन ?
हैन । एक हिसाबले गाउँदा पनि स्वर सँगै अभिनय पनि गर्नुपर्छ । त्यहाँ पनि कला देखाउनु पर्छ । स्टेजमा गएर गाउँदा पनि आफ्नो प्रस्तुतिमा अभिनय चाहिन्छ । मलाई कलाकारिता भित्रका सबै विधामा अनुभव सङ्गाल्न मन लाग्छ । फिल्ममा आउने सोच पनि अघि देखिकै हो तर उपयुक्त अवसरको खोजिमा थिएँ । द्रौपदीमा त्यो अवसर पाएँ ।
सङ्गीतमा पनि डेब्यु गर्नुभयो है न ?
पश्चिमको टोनमा, पश्चिमको लयमा केहि राम्रो आउँछ कि भनेर निर्देशकले म माथी बिश्वास गरेर यो अवसर दिनुभयो । खुसी छु । दर्शकको माया पनि पाइरहेको छु ।
‘द्रौपदी’ किन हेर्ने ?
विषयवस्तु गम्भीर छ । अहिलेसम्म पूर्णरुपमा उठान नगरेको विषयलाई निर्देशकले उठाउनुभएको छ । शे फोक्सुन्डो लगायत कर्णालीका विभिन्न मनोरम दृश्यलाई पनि देखाइएको छ । सदरमुकामबाट ३ दिन पैदल हिँडेर छायांकन गरिएको छ । ती दृश्यले नै दर्शकलाई आनन्दित तुल्याउने पक्का छ । नेपाल चिनाउने, नेपालको सुन्दरता चिनाउने काम समेत गर्ने छ । वास्तविक नेपाल काठमाडौ मात्र होइन रै’छ त्यहाँको जनजीवन हेरेपछि यो पनि नेपाल हो भन्ने लाग्छ ।
नयाँ कलाकार कसरी छनोट गरियो ?
वास्तविक लागोस भनेर नयाँ पात्र छनोट गरिएको हुनसक्छ । चर्चित अनुहार नहोलान् तर अभिनयमा अब्बल चाहिँ छन् । कलजाकार अडिसनबाट छनोट गरिएको हो । कलाकार कथामा मज्जाले डुबेका छन् । २ महिनाको कार्यशाला गरेर छायांकन गरिएकोले काम गज्जब गरेका छन् । फिल्म हेर्नुभयो भने यी कलाकारबाहेकले कथालाई न्याय हुँदैन रैछ भनेर बुझ्नुहुन्छ ।
डेब्यु फिल्मबाट कत्तिको आशावादी हुनुहुन्छ ?
देशप्रेम, अर्गानिक खानेकुराको मोह, संस्कृतिप्रतिको झुकावदेखि विदेशमा बसेर भाषा, भूगोलप्रतिको माया दर्शकमाझ बढेको छ । यस्तोमा अहिले आएर मौलिक नेपाली फिल्मप्रति दर्शकले दिइरहेको अपार माया बढ्दै गरेको देखेकाले द्रौपदी सहि समयमा प्रदर्शन हुन लागेको देखेको छु । यसले गर्दा म आशावादी छु । ‘नेपाल आइडल’पछि एक खुड्किलो अघि बढेको अनुभूति भएको छ ।
‘द्रौपदी’ चल्नुपर्ने कारण के छन् ?
अर्गानिक नेपाली फिल्मप्रति दर्शकको माया र चासोलाई यो फिल्मले निराश तुल्याउनेछैन । ४ बर्षको अध्ययनसहित निर्देशकले बनाएको यो फिल्म हो । वास्तविक नेपाली फिल्मको स्वाद तपाईंले यसमा पाउनुहुनेछ । तसर्थ, द्रौपदी हेर्नुपर्छ ।
दर्शकलाई के भन्न चाहनुहुन्छ ?
जसरी नेपाल आइडलका लागि दर्शकले अपार माया दिएर जिताउनुभयो, त्यसैगरि द्रौपदीमार्फत अभिनयमा पाइला टेकेको छु । मिहेनत गरेको छु । धेरैभन्दा धेरै दर्शकले यसलाई हेरे अभिनयलाई सफल बनाइदिनु हुन अनुरोध छ ।
प्रतिक्रिया 4