+
+
Shares

शिक्षा मन्त्रालयको स्पष्टीकरण : प्रधानमन्त्रीले भनेजस्तो छात्रवृत्तिको आवेदन नै नपरेको होइन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेरिटको आधारमा नाम छनोट गरेर परराष्ट्र मन्त्रालय मार्फत पठाए पनि विद्यार्थीले अन्तिम समयमा अनलाइनबाट डकुमेन्ट नपठाएकाले सिट खाली भएको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १८:१३

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार फेसबुकमा लेखे– ‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण सिट खाली रहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो एक दुई दिनभित्रै आवेदन दिनुहोला ।’

प्रधानमन्त्री ओलीले उल्लेख गरेको यो विषय चीनको छात्रवृत्तिको हो ।

तर, प्रधानमन्त्रीले भनेजस्तो पर्याप्त विद्यार्थीको आवेदनै नपरेको भने होइन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेरिटको आधारमा नाम छनोट गरेर परराष्ट्र मन्त्रालय मार्फत पठाए पनि विद्यार्थीले अन्तिम सयममा अनलाइनबाट डकुमेन्ट नपठाएकाले सिट खाली भएको शिक्षा मन्त्रालयले प्रष्टीकरण दिएको छ ।

‘दुई सय विद्यार्थीको आवेदन परेको थियो । मेरिटको आधारमा नाम छनोट गरेर पठाएका थियौं । छनोटमा परेका विद्यार्थीलाई जानकारी पनि गराएको हो । तर उहाँहरूले चीनको नियम अनुसारको प्रक्रियामा सहभागी हुनु भएन’ शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका उपसचिव सेमन्तराज कोइरालाले भने, ‘प्रधानमन्त्रीज्यूले भनेजस्तो आवेदन नै नपरेको भने होइन ।’

चीनले ७१ सिटमा छात्रवृत्ति दिएको थियो । गत पुसमा शिक्षा मन्त्रालयले आवेदन माग गरेको थियो ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थी प्रक्रियामा सहभागी नहुँदा अन्डर ग्राजुएट एमबीबीएस १ जना, पोस्ट ग्राजुएट इन्जिनियरिङमा ७ जना, एग्रिकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आईटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको खाली भएको हो ।

‘विद्यार्थीले के कारणले डकुमेन्ट पेस गरेनन् थाहा छैन । डकुमेन्ट पेस गर्न हामीले बारम्बार भनेका हौं तर, पेस नगर्दा समस्या आएको हो,’ कोइरालाले भने ।

अब यो खाली भएको सिटमा के गर्ने भन्ने अधिकार चीनसँग छ । शिक्षा मन्त्रालयका अनुसार समय सकिएकाले चीनले प्रक्रिया रोकिसकेको छ । ‘उताको सिस्टमबाट प्रक्रिया ब्लक भएको भनेर म्यासेज आएको छ,’ उपसचिव कोइरालाले भने ।

अब चीनले फेरि प्रक्रिया खुलाएमा मात्र शिक्षा मन्त्रालयले अर्को प्रक्रिया अगाडि बढाउने छ नभए छात्रवृत्तिको २० सिट खाली हुने भएको छ ।

‘इच्छा नभएका व्यक्तिले आवेदन नदिएको भए अरू विद्यार्थीले अवसर पाउने थिए । मेरिटमा नाम सिफारिस गरेका थियौं । उहाँहरूको ठाउँमा अर्को व्यक्ति छनोट हुने थियो । आवेदन दिएका तर नपरेका विद्यार्थी धेरै छन्,’ कोइरालाले भने ।

प्रधानमन्त्री ओलीले आवेदन दिन फेसबुकमा लेखेपछि पनि तीन जनाको आवेदन परेको छ । ‘अब के हुन्छ थाहा छैन । चीनले उसको कानुन अनुसार गर्ने हो,’  उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?