
काठमाडौँं । महाशिवरात्रि पर्वको अवसरमा फिल्म ‘योगमाया’ निर्माणको घोषणा भएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर र भोजपुरको योगमाया शक्तिपिठमा पूजाआजा गर्दै फिल्म घोषणा गरिएको हो ।
भोजपुरको योगमाया समाधिस्थलमा दिवंगत पहलमानका छोरा नवराज बस्नेत, शक्तिपीठ अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा प्राविधिक निर्देशक नेत्र छन्त्याल लगायतले स्क्रिप्ट पुजा गरे ।
पशुपतिनाथ मन्दिरमा निर्देशक रिमेश अधिकारी, लाइन प्रोड्युसर तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, कलाकार शिवशंकर रिजाल, लय संग्रौला लगायतले स्क्रिप्ट र पोस्टर पूजा गर्दै फिल्म घोषणा गरे ।
‘योगमाया’ले राणा शासनविरुद्ध आवाज उठाउँदै जल समाधि लिने भोजपुरकी योगमाया न्यौपानेको कथा पेश गर्छ । उनी जुद्धशम्शेर राणाको समयमा समाज विद्यमान विभेद, असमानता, छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथा अन्त्य गर्न लडेकी थिइन् ।
फिल्मले विद्रोही महिलाको रुपमा योगमायाको संघर्ष र बलिदानको कथा चित्रण गर्ने निर्देशक तथा निर्माता अधिकारी बताउँछन् । फिल्मका लागि १ बर्षदेखि अनुसन्धान गर्दै विभिन्न पुस्तक, जानकार व्यक्तिसँग पराशर्म गरिएको थियो । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने फिल्मलाई नवराज बस्नेत, भरत संग्रौला, इश्वर श्रेष्ठ, माधव थापा लगायतले निर्माण गर्न लागेका हुन् ।
फिल्ममा बेनिशा हमाल, लय संग्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेश डीसी, शिवशंकर रिजाल, विशाल पहारी, मनोज शाक्य, बालकलाकार पोषण श्रेष्ठ लगायत फाइनल भएका छन् । छायांकन नयाँ बर्ष २०८२ मा सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया 4