
१४ फागुन, काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले कोरियाबाट नेपाल आएका नयाँ स्वयंसेवीहरुलाई स्वागत गर्दै कार्यक्षेत्रमा खटाएको छ । गत मंगलबार ललितपुरमा आयोजित स्वागत समारोहपछि उनीहरुलाई कार्यक्षेत्रमा खटाइएको हो ।
कार्यक्रममा कोइकाका प्रतिनिधिहरू, चार नयाँ स्वयंसेवी प्राप्त गर्ने संस्थाहरूका प्रतिनिधिहरू तथा चार नवआगन्तुक स्वयंसेवीहरूको सहभागिता थियो ।
स्वयंसेवा कार्यक्रमअन्तर्गत यी स्वयंसेवीहरू २०२५ जनवरी २० मा नेपाल आएका थिए । उनीहरूले ललितपुरमा चार सातासम्म विशेष तालिम लिएका थिए । तालिम सफलतापूर्वक सम्पन्न गरेपछि, उनीहरू विभिन्न स्थानका संस्थाहरूमा सेवा दिन खटिएका छन् ।
नयाँ स्वयंसेवी र उनीहरुका जिम्मेवारी निम्नानुसार छन्–
१. सुश्री योङाह म्याङ – विशेष शिक्षा क्षेत्र, हिमालयन स्पेसियल स्कूल फर अटिज्म एन्ड रिह्याबिलिटेशन सेन्टर, धनगढी, कैलाली ।
२. सुश्री डलसाम हङ – पर्यटन क्षेत्र, सूर्योदय नगरपालिकाको कार्यालय, इलाम ।
३. श्री ट्येक्यु आन – ल्याब प्रविधि क्षेत्र, नेपाल रेडक्रस सोसाइटी, कास्की (प्रादेशिक रक्तसञ्चार सेवा) ।
४. सुश्री हयउन किम – नर्सिङ क्षेत्र, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ ।
उनीहरू सबैले फेब्रुअरी २७, २०२५ देखि औपचारिक रूपमा आफ्नो स्वयंसेवा कार्य प्रारम्भ गर्ने ललितपुरस्थित कोइकाको कार्यालयले जनाएको छ ।
कोइका कोरिया सरकारको एक विकास सहयोग संस्था हो, जसले विभिन्न विकासशील देशहरूमा आर्थिक सहायता, प्राविधिक सहयोग र स्वयंसेवी कार्यक्रमहरूमार्फत सहयोग प्रदान गर्छ ।
यस संस्थाले सन् १९९० देखि नेपालमा काम गर्दै आएको छ । कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटन, पूर्वाधार विकास र प्रशासन सुधार जस्ता विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको नेपालस्थित कोइकाको ललितपुरस्थित कार्यालयकी म्यानेजर सिर्जना श्रेष्ठले जानकारी दिइन् । यस कार्यक्रमले नेपाल–कोरिया मित्रतालाई अझ सुदृढ बनाउने लक्ष्य समेत छ ।
हालसम्म कोरियाका ४१० स्वयंसेवकहरूले नेपालमा सेवा गरिसकेका छन् । कोइकाको नेपाल कार्यालयले स्वयंसेवकहरूको सुरक्षालाई प्राथमिकता दिँदै स्वास्थ्य तथा सुरक्षा प्रोटोकलहरूलाई पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया 4