१५ फागुन, काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते स्पीन बलर म्याथ्यु कुहनेमानको बलिङ एक्सन वैध भएको आईसीसीले निष्कर्ष निकालेको छ । केही साताअघि उनको एक्सन शंकास्पद भएको भन्दै आईसीसीले छानविन गर्ने निर्णय गरेको थियो ।
आफ्नो करियरमा पहिलो पटक बलिङ एक्सनमािथ प्रश्न उठेपछि कुहनेमानला निष्कर्ष नआइन्जेलसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट रोक लगाइएको थियो ।
अस्ट्रेलियाको क्विन्सल्याण्डस्थित राष्ट्रिय क्रिकेट केन्द्रमा इन्डिपेन्डेन्ट बलिङ मूल्यांकनपछिको नतिजामा उनले गरेका सबै बलको एल्बो एक्स्टेन्सन (कुहिनो विस्तार) १५ डिग्रीभन्दा भित्रै रहेको देखिएको हो । १५ डिग्रीभन्दा बढी भए बलिङ एक्सन वैध मानिँदैन।
योसँगै अब कुहनेमानले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न पाउनेछन् । केही साताअघि श्रीलंकामा भएको दुई टेस्ट खेलमा जित निकाल्न अस्ट्रेलियाका लागि २८ वर्षीय कुहनेमानले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ इनिङमा सर्वाधिक १६ विकेट लिएका थिए ।
उनी अस्ट्रेलियाको च्याम्पियन्स ट्रफी खेल्ने टोलीमा भने परेका थिएनन् । बलिङ एक्सन शंकास्पद भएपनि घरेलु क्रिकेटमा बलिङ गर्न भने उनीमाथि कुनै रोक लगाइएको थिएन ।
प्रतिक्रिया 4