
१५ फागुन, काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक २०८० मा गएको भूकम्पले जाजरकोटमात्रै होइन, आसपासका जिल्लामा पनि असर गर्यो । इपिसेन्टरमा जति असर गर्यो त्यति नै मात्रामा रुकुमपश्चिममा पनि असर गरेको थियो ।
तर, भूकम्प गएको १६ महिना बितिसक्दासमेत रुकुमपश्चिमका सबै भूकम्प पीडितले अस्थायी आवास बनाउन बनाउन पहिलो किस्तासमेत पाएका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार रुकुम पश्चिमका २ हजार १ जनाले अझै पनि अस्थायी आवासका लागि पहिलो किस्ता नै पाएका छैनन् ।
भूकम्प लामो समय भइसक्दा पनि पीडितले क्षूतिपूर्ति नपाउँदा पीडितहरू बर्खा र हिउँदमा कष्टपूर्ण तरिकाले बसिरहेको त्यहाँका स्थानीयले बताएका छन् । भूकम्प प्रभावित रुकुमपश्चिम बाफीकोट गाउँपालिका-९ का वडाध्यक्ष जोगबहादुर चन्द आवास निर्माणका लागि सरकारबाट पाउने राहत नपाउँदा अहिले पनि उनीहरु कोही आफन्तको भरमा त कोही चर्किएकै संरचनामा बस्न बाध्य भएको बताँछन्।
‘वडाले गर्नुपर्ने समन्वय र ताकेता त गरिरहेको छ । तर, माथि (संघीय सरकार) बाटै नआएको भन्ने जिल्ला विपद् व्यवस्थापन समितिले भनिरहेको छ’, वडाध्यक्ष चन्दले भने, ‘पहिलो किस्ता पनि नआउँदा धेरैजना चर्किएकै घरमा जोखिमयुक्त किसिमले बसिराख्नुभएको छ ।’
जाजरकोटका भूकम्प पीडितले मात्रै होइन, बझाङ र डोटीका पीडितको अवस्था पनि त्यस्तै छ । जाजरकोटमा गत २०८० कार्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कात्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । यति लामो समयसम्म भूकम्प पीडितको पुनर्स्थापना हुन नसक्नुको एउटै कारण हो, बेलैमा भूकम्प क्षति आंकलन नहुनु ।
प्राकृतिक विपत्तिले असर गरेको लामो समयसम्म अध्ययन र क्षति आंकलन नगर्दा पीडितले सास्ती पाउँदै आएका छन् । क्षतिको एकीन विवरण र आंकलन नहुँदा उनीहरुको अझै पुनर्स्थापना हुन सकेको छैन भने पुनर्निर्माणका कामसमेत अगाडि बढ्न सकेको छैन ।
सरकारले डोटीमा भूकम्प गएको २ वर्षपछि बल्ल क्षति आंकलन, पुनर्निर्माण तथा पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको छ यो अवधिमा पश्चिम क्षेत्रमा ससाना थुप्रै भूकम्प गइसकेका छन् भने जाजरकोट र बझाङमा भूकम्प गएको पनि झन्डै १६ महिना बितिसकेको छ ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बिहीबार सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठक बसेको थियो । सोही बैठकले जाजरकोट, बझाङ र डोटीमा भूकम्पपछिको क्षति आंकलन, पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय भएको बताएका हुन् ।
गृहमन्त्री रमेश लेखकले बैठकपछि सञ्चारकर्मीसँग गृहमन्त्री लेखकले भूकम्पपछिको पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी रहेको बताएका हुन्।
गृहमन्त्री लेखक आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृह मन्त्रालयले जनाएको छ ।
‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आंकलन र निजी घरहरुको पुनर्निर्माण एवं पुनर्स्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ’, गृहमन्त्री लेखकले भने, ‘अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षति आंकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनर्स्थापनाको काम अगाडि बढाउँछौं ।’
गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । ‘पहिलो भूकम्प भएको दुई र पछिल्लो भूकम्प भएको एक बर्ष बितिसक्दा पनि क्षति आंकलन गर्ने र पुनर्निर्माण एवं पुनर्स्थापना अगाडि बढ्ने सकेको स्थिति थिएन’, उनले भने ।
प्रतिक्रिया 4