
१५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक मेला-२०८१ आयोजना गर्ने भएको छ ।
विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्न शुक्रबार र शनिबार शैक्षिक मेला आयोजना गर्न लागिएको महानगरका प्रवक्त नविन मानन्धरले जानकारी दिए ।
राष्ट्रिय सभागृहमा सञ्चालन हुने मेलामा विद्यार्थीले सिकेका ज्ञान र सिपको प्रस्तुति र प्रदर्शनी हुने महानगरले जनाएको छ ।
महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकास लगायत कार्यक्रमको विम्ब मेलामा समेटिने बताइएको छ ।
मेलामा बुक फ्री फ्राइडे अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन हुनेछन् ।
मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइनेछ ।
नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिने महानगरले जनाएको छ ।
विद्यार्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ प्रदर्शन गरिने महानगरले जनाएको छ ।
महानगरभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।
मेलामा ४०–५० हजार विद्यार्थी सहभागी हुने अपेक्षा महानगरको छ ।
प्रतिक्रिया 4