१५ फागुन, काठमाडौं । नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक पाकिस्तान जितविहीन बन्दै प्रतियोगिता टुंग्याएको छ । पाकिस्तानसँगै अर्को एसियन राष्ट्र बंगलादेश पनि जितविहीन बन्यो ।
समूह ए अन्तर्गत बिहीबार रावलपिण्डीमा हुने तय रहेको पाकिस्तान र बंगलादेशबीचको खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोली जितविहीन बनेका हुन् । दुवै टोली आज सान्त्वना जितका साथ सुखद अन्त्यको खोजीमा थिए ।
पछिल्लोपटक सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएर उपाधि जितेको पाकिस्तानले यसपटक उपाधि रक्षाको बाटो खोल्नै सकेन ।
दुवै टोली यस खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । पाकिस्तान पहिलो खेलमा न्युजिल्याण्डसँग ६० रनले तथा दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।
त्यस्तै बंगलादेश पहिलो खेलमा भारतसँग ६ विकेटले तथा दोस्रो खेलमा न्युजिल्याण्डसँग ५ विकेटले पराजित भएको थियो ।
समूह ए बाट भारत र न्युजिल्याण्ड यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । समूहविजेताको टुंगो यी दुई टोलीबीच आइतबार हुने खेलपछि लाग्नेछ ।
मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।
समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान छ ।
प्रतिक्रिया 4