+
+
Shares

नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रशासन र झडप गर्ने पक्षबीच सहमति टुंगिएर शव समेत परिवारले बुझिसकेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १७:२१

१५ फागुन, काठमाडौं । एक जोडीले भागेर विवाह गरेको विषयलाई लिएर मंगलबार दिनभरि तनावग्रस्त बनेको नवलपरासी पश्चिमको घटनाका सम्बन्धका दुई पक्षबीच सहमती भएको छ ।

झडपमा उत्रिएका दुवै पक्ष (केटा पक्ष र केटी पक्ष) र प्रशासनका बीच बिहीबार सहमति भएको हो । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रशासन र झडप गर्ने पक्षबीच सहमति टुंगिएर शव समेत परिवारले बुझिसकेको बताए ।

‘प्रशासन र उहाँहरूबीच सहमति भइसकेको छ । त्यसपछि शव बुझेर दाहसंस्कारका लागि समेत लगिसक्नु भएको छ,’ रेग्मीले अनलाइनखबरसँग भने ।

अहिले नवलपरासी प्रहरीको हिरासतमा ६ जना छन् । घटनाको विषयमा सत्य तथ्य छानबिन गरेर निर्दोष देखिएमा उनीहरूलाई छाड्नेबारे सहमतिपत्रमा उल्लेख गरिएको छ । घटनाको अनुसन्धान गरेर दोषीमाथि कडा कारबाही गरिनुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनेबारे सहमति पत्रमा उल्लेख गरिएको रेग्मीले बताए ।

सामाजिक सद्भाव बिग्रन नदिने सबै पक्ष एकजुट भएर काम गर्ने र शान्ति सुरक्षा मजबुत पार्ने लगायतका विषयहरू सहमतिपत्रमा उल्लेख गरिएको छ । सहमति भइसकेपछि केटीका दाजुले चलाएको भ्यानको ठक्करबाट मृत्यु भएका विजय धवलको शव परिवारले बुझेर दाहसंस्कारका लागि लगिसकेका छन् ।

नवलपरासी पश्चिमको पालिनन्दन गाउँपालिका–३ बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबीचको प्रेम सम्बन्ध र विवाहले निम्त्याएको आक्रोशका कारण मंगलबार ज्यान जानेसम्मको घटना भएको थियो । धोबीले खातुनलाई भगाएर विवाह गरेपछि केटा र केटी पक्षबीच करिब दुई महिनादेखि विवाद हुँदै आएको थियो ।

एक प्रहरी अधिकृतका अनुसार सोमबार मात्रै केटी पक्षले केटाका भाइलाई ‘हाम्री छोरी कहाँ बेपत्ता पारिस्’ भन्दै कुटपिट गरेका थिए । आफ्नो मान्छे कुटिएपछि त्यसको बदला लिन भन्दै केटा पक्षका मान्छेहरू केटीको घर पुगे । त्यही बेला झडप भएको प्रहरीको भनाइ छ ।

केटीका दाइले पिकअप भ्यानले ठक्कर दिएर दुई जनालाई घाइते समेत बनाएका थिए । घाइतेमध्ये विजय धवलको मृत्यु भएको थियो । गाडीको ठक्करबाट घाइते भएका अर्का व्यक्ति वैद्यनाथ लौनियाको भने उपचार भइरहेको छ ।

त्यसपछि केटा पक्षले केटीको दाइको कवाडी पसलमा आगजनी गरेका थिए । यही आगजनीमा पर्न लागेका एक व्यक्तिलाई उद्धार गरेर लैजाने क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको भ्यान नै जलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?