
१५ फागुन, काठमाडौं । दाङको गढवा र बंगलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौंको थापाथलीस्थित कोषको कार्यालयमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
गढवा गाउँपालिका र बंगलाचुली गाउँपालिकाका औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरू तथा स्वरोजगार भएका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरी नागरिकको भविष्यमा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न कोषसँग सम्झौता गरिएको दुवै पालिकाका अध्यक्षहरूले बताएका छन् ।
अहिले सामाजिक सुरक्षा वितरण प्रणालीलाई भविष्यमा राज्यको कोषले थेग्न नसक्ने अवस्था देखिएको हुनाले नागरिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरी सबै नागरिकहरुलाई त्यसमा जोड्न आवश्यक रहेको कोषका कार्यकारी निर्देशक अधिकारीले बताए ।
प्रतिक्रिया 4