+
+
Shares

आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन समिति गठन

समितिलाई बजेटका सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजना र कार्यक्रम प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्य मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १९:३६
बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल/फाइल तस्वीर

१५ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि समिति गठन गरेको छ । समिति संयोजकमा मन्त्रालयका बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तोकिएका छन् ।

समिति सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभाग उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।

समितिलाई बजेटका सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजना र कार्यक्रम प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्य मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिए ।

यसैबीच अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगबाट स्रोत समितिको निर्णय बमोजिम प्राप्त बजेटको सीमाभित्र रहेर चालु, पूँजीगत, वित्तीय व्यवस्था तथा अन्तरसरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ ।

आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा १५ फागुनसम्म आगामी आवको बजेट सीमा तथा बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन पठाउने व्यवस्था छ ।

त्यसैगरी अर्थ मन्त्रालयले समानीकरण अनुदान सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपूरक र विशेष अनुदान सीमा राष्ट्रिय योजना आयोग र ससर्त अनुदान सीमा सम्बन्धित विषयगत मन्त्रालयहरूलाई उपलब्ध गराएको छ ।

राष्ट्रिय गौरवका आयोजना र मुख्य आयोजनाका लागि बजेट एयरमार्क गरी पठाइएको अर्थले जनाएको छ ।

बजेट मार्गदर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलापमा बजेट प्रस्ताव गर्न, नयाँ आयोजना प्रस्ताव गर्दा चालु आयोजनालाई प्राथमिकीकरण गर्ने तयारी पूरा भएका एवं लगानी ढाँचा सुनिश्चित भएका आयोजना मात्र प्रस्ताव गर्ने लगायत विषय समावेश छन् ।

त्यसैगरी आयोजनाहरू दोहोरो नपर्ने गरी आयोजना बैंकमा समावेश भएका प्रस्तावमात्र समावेश गर्न पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?