+
+
Shares

हराएको ५ महिनापछि महिलाको कंकाल फेला, हत्या आरोपमा एक पक्राउ

टाउको र संवेदनशील अंगमा ढुंगाले हानेर क्रूरतापूर्वक हत्या

औषधी किन्न घरबाट बजार हिडेकी काभ्रेपलाञ्चोक मण्डनदेउपुर–११ की निशा लामा पाँच महिनादेखि बेपत्ता थिइन् । तैपनि परिवारका सदस्यलाई एकदिन जीवितै फेला पर्ने आशा थियो । तर, हत्या गरेर फालिएको अवस्थामा जंगलमा निशाको कंकाल भेटियो ।

कपिल कोइराला कपिल कोइराला
२०८१ फागुन १५ गते २२:१४

१५ फागुन, काभ्रेपलाञ्चोक । हराएको ५ महिनापछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ११ की निशा लामाको कंकाल भेटिएको छ ।

गत १५ असोज औषधी किन्न पाँचखालको तामाघाट जान्छु भनेर निशा घरबाट हिँडेकी थिइन् । त्यसयता उनको अत्तोपत्तो थिएन ।

तर, बुधबार (१४ फागुनमा) दिउँसो पाँचखाल नगरपालिका– ३ मा रहेको काफ्लेडिही नजिकैको जंगलमा निशाको कंकाल फेला पर्‍यो ।

जिल्ला प्रहरी कार्यालयका प्रमख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले कंकालसँगै ब्याग र चप्पल भेटिएको र ब्यागमा निशा लामाको नाममा काटिएको लेडिज टेलरको बिल फेला परेको जानकारी दिइन् ।

सोही आधारमा मृतकको सनाखत गरिएको एसपी खड्काले बताइन् । निशाका पति राइफल लामाले पनि कंकाल आफ्नी श्रीमतिको भएको सनाखत गरेका छन् ।

कंकालको पहिचान भएलगत्तै प्रहरीले प्रविधिको सहायताले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा प्रहरीले काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– ६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेको छ ।

निशा लामाको हत्या आरोपमा पक्राउ परेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– ६ का ३६ वर्षीय सुनिल रञ्जितकार । तस्वीर : काभ्रे प्रहरी ।

रन्जितकारविरुद्ध निशाका पति राइफल लामाले जाहेरी समेत दर्ता गराइसकेका छन् । उनले जाहेरीमा सुनिल रञ्जितकारले निशालाई बनेपामा भेटी ललाईफकाई झुक्याएर काफ्लेडिहीको जंगलमा लगेको उल्लेख गरेका छन् ।

क्रूरतापूर्वक हत्या, जंगलमै शव लुकाएर फरार

प्रहरीका अनुसार सुनिल रञ्जितकारले बयानको क्रममा हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । प्रहरीका अनुसार ढुंगाले निशाको टाउकोमा पटक–पटक प्रहार गरी क्रूरतापूर्वक हत्या गरेका थिए ।

हत्यापछि मृतकको शव जंगलमै लुकाएर उनी फरार भएका थिए ।
रञ्जितकारले जबर्जस्ती करणीको अभियोगमा फसाइदिन्छु भन्दै निशाले धम्की दिएपछि आवेशमा आएर धारिलो हतियार र ढुंगाले टाउकोमा र संवेदनशील अंगमा क्रूरता पूर्वक प्रहार गरेर हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।

प्रहरीले बिहीबार रञ्जितकारलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए ।

लेखकको बारेमा
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?