+
+
Shares

अपचलनलाई छुट दिइनुहुन्न तर प्राध्यापकको सेवा–सुविधामा समस्या छ

विश्वविद्यालयका प्राज्ञबाट हुने कुनै पनि अपचलनलाई छुट दिनुहुँदैन । यी मुद्दामा समाज पनि जागरुक हुनुपर्छ, नागरिक समाजले खबरदारी गर्नुपर्छ । तर थाहा पाउनुपर्छ कि– नेपालमा प्राध्यापकको सेवा–सुविधामा पनि समस्या छ ।

डा. रमा पौडेल, उप–प्राध्यापक  डा. रमा पौडेल, उप–प्राध्यापक 
२०८१ फागुन १६ गते १०:१३

विश्वविद्यालयहरू पुरानो संरचना हुन् । जसले देशको गोरेटो कोरेको हुन्छ । गोरेटो कोर्ने भोको प्राध्यापक र विद्यार्थीले नै हो । विश्वमा विश्वविद्यालयको राम्रो विकास भएको पाइन्छ ।

विश्वविद्यालयको आत्मा र गरिमा जोगाइराख्न प्राज्ञिक साधकहरू लागेका हुन्छन् । सँगै विश्वविद्यालय आलोचित नहुने गरेको पनि होइनन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा कार्यरत मैले यसो भनिरहँदा म आफैंले पढाउने क्याम्पसमा ताला ठोकिएको छ । विज्ञप्ति टाँसिएको छ ।

विश्वविद्यालय भन्ने वित्तिकै प्राध्यापक, विद्यार्थी अध्ययन, अध्यापन र त्यसको सहजीकरणको निमित्त बनेका अनेकन् संरचना पर्दछन् । विश्वविद्यालय ज्ञान र प्रज्ञाले भरिपूर्ण हुनुपर्छ । त्यसको लागि सद्चरित्रवान् प्राध्यापक हुनुपर्छ । यसमा कतै प्राध्यापकहरू चुकेका त छैनन् ?

पूर्वीय संस्कृतिमा प्राध्यापकलाई गुरुको मान्यता दिइएको पाइन्छ । हाम्रो परिवेशमा प्राध्यापकको रूपमा सम्मानित हुन हामी लायक छैनौं वा हामीलाई त्यो लायक बन्ने वातावरण छैन । त्यो अहिलेको महत्वपूर्ण प्रश्न हो । हामी लायक छैनौं भने त्यसको लागि नियमनकारी व्यवस्था हुनसक्छ । लायक बन्ने वातावरण छैन भने कतिपय अवस्थामा शक्तिमा पुग्नेहरूको नियत बदनियतले पनि त्यसमा भूमिका खेलेको पो छ कि ?

पश्चिमा देशहरूमा कृषिमा आधारित अर्थ व्यवस्थालाई औद्योगिक विकास हुँदै प्रविधिको युगमा प्रवेश गराउन विश्वविद्यालयको महत्वपूर्ण भूमिका छ । विश्वका प्रतिष्ठित विश्वविद्यालयमा पुग्दा हाम्रा विश्वविद्यालय पनि यस्तो भइदिए हुनेथियो भन्ने बोध हुनैपर्छ ।

तर हाम्रोमा देशलाई कस्तो जनशक्तिको जरुरत पर्दछ ? त्यसको लागि विश्वविद्यालयमा कस्तो अभ्यास भइरहेको छ ? स्रोत र साधन कति उपलब्ध छन् ? त्यसको लेखाजोखा राखेको पाइँदैन । विश्वविद्यालय प्रमाणपत्र प्रदान गर्ने औपचारिकतामा सीमित भएको आभास हुन्छ ।

त्रिभुवन विश्वविद्यालय जस्तो ऐतिहासिक विश्वविद्यालयमा प्राध्यापन गर्न पाउनु गौरवको कुरा हो । विश्वविद्यालय अनुसन्धान र अन्वेषणको लागि आकर्षणको केन्द्र हुनुपर्ने हो । त्यसको लागि प्राध्यापकलाई दिइँदै आएको सुविधामा कमि छ । विश्वविद्यालयहरूले प्राध्यापकको क्षमता विस्तारको लागि प्रयास नै गरेको देखिंदैन ।

व्यक्तिगत लाभ–हानिको हिसाब–किताबले विश्वविद्यालयको प्रज्ञालाई नाश गरिरहेको देखिन्छ । अझै प्राध्यापकहरूले व्यक्तिगत लाभ–हानिको लागि विद्यार्थीलाई उपयोग गर्ने गरेका दृष्टान्त पनि यत्रतत्र पाइन्छ । अर्को महत्वपूर्ण कुरा नेपालका विश्वविद्यालयमा जस्तो व्यक्तिगत इगोको समस्या समाजका अन्य क्षेत्रमा कमै होला ।

अध्ययनको हिसाबले अगाडि तर आर्थिक र अन्य हिसाबले पछाडि पर्नुपर्ने प्राध्यापकका बाध्यताले पनि त्यो इगोमा मलजल गरेको छ । विश्वविद्यालयमा आर्थिक रूपले अपारदर्शी प्राध्यापकलाई खासै नियमन गरेको पाइँदैन भने संख्याको आधारमा विद्यार्थी, प्राध्यापक र कर्मचारीबाट हुने अराजक गतिविधिलाई विश्वविद्यालयले नियमन गर्न सकेको देखिंदैन । अर्कोतर्फ अराजक र असहज वातावरण नभई सम्पन्न गर्नुपर्ने कतिपय मुद्दाहरूमा विश्वविद्यालय संयन्त्र संवेदनशील देखिंदैन ।

प्राध्यापकलाई दिइने प्राज्ञिक स्वतन्त्रताको बारेमा समेत हाम्रोमा त्यति बहस गरेको पाइँदैन । एकातिर प्राज्ञिक स्वतन्त्रता आधारभूत अधिकारको रूपमा व्याख्या हुने गरेको छ । हाम्रो जस्तो देशमा प्राज्ञिक स्वतन्त्रतालाई आफू अनुकूल व्याख्या गरी दुरुपयोग गरेको समेत पाइन्छ ।

प्राध्यापक र विश्वविद्यालयहरू समाजप्रति पनि उत्तरदायी हुनुपर्ने हो । देश र समाजलाई मार्गदर्शन गर्ने क्षमता विश्वविद्यालयमा हुनुपर्ने हो । तर यसको उल्टो विश्वविद्यालयमा बाह्य प्रभाव धेरै परेको देखिन्छ । अचेल राजनैतिक दलका कार्यालयहरूमा प्राज्ञिक बहस सुरु भएका छन् । जुन अत्यन्तै राम्रो हो ।

तर विश्वविद्यालयमा राजनीति नगर्ने भनेर पनि अर्को राजनीति सुरु भएको छ जुन दुर्भाग्यपूर्ण छ । विश्वविद्यालयमा नै अलिक फराकिलो भएर सोच्ने वातावरण भएन, अपनत्व भएन, सबैको अस्तित्व र क्षमताको कदर भएन भने समाजले गति लिन सक्दैन । अहिले त प्रतिज्ञापत्र पेश गरेर नियुक्ति लिनुभएका पदाधिकारीहरू हुनुहुन्छ ।

समयसीमा सहित दिइएका ती प्रतिज्ञापत्रहरू कुनै राजनैतिक दलको घोषणापत्र जस्तो हुनुभएन । अर्कोतर्फ व्यक्तिलाई असफल बनाउने बहानामा विश्वविद्यालयलाई असफल बनाउने प्रयास गर्नुहुँदैन । त्यसको लागि पदाधिकारी, प्रशासकहरूलाई काम गर्ने वातावरण प्रदान गर्नु महत्वपूर्ण हुन्छ । विश्वविद्यालयमा प्राज्ञबाट हुने कुनै पनि किसिमको अपचलनलाई छुट दिइनुहँुदैन । त्यसैले विश्वविद्यालयका मुद्दाहरूमा समाज पनि जागरुक हुनुपर्छ । नागरिक समाजले खबरदारी गर्नुपर्छ ।

(‘युनिभर्सिटी अफ् इलिनोइजअमेरिकाबाट बाली विज्ञानमा पीएचडी डा.पौडेल त्रिवि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा बाली विज्ञान विषयको उपप्राध्यापक हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?