+
+
Shares

‘भ्वाइस’बाट चम्किएका रिहान, ‘होस्टेल ३’बाट फिल्मी सपना पछ्याउँदै

भुटानबाट आएर नेपालमा फिल्म करिअर बनाउनु रिहानको लागि सजिलो पक्कै थिएन । ‘मलाई नेपाली पढ्न पनि आउँदैन, स्क्रिप्ट पनि मेरो लागि अंग्रेजीमा बनाइदिनुभएको थियो । सुट गर्दा कति कुरा बुझ्न नि गाह्रो भएको थियो’ उनले छायांकन अनुभव सम्झिए ।

प्रतीक्षा रिजाल प्रतीक्षा रिजाल
२०८१ फागुन १६ गते १२:३५

काठमाडौं । भुटानका नेपालीभाषी रिहान गिरीले ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनबाट निकै चर्चा पाए । नेपालको चर्चित सांगीतिक रियालिटी शोको फाइनलिस्ट बनेका उनी नेपाली युवापुस्ताले चिन्ने नाम पनि बनेका छन् ।

रिहान स्टेजमा जति दमदार रकपप गाउँछन्, उति नै अभिनयमा अब्बल पनि छन् । उनले डेब्यु गरेको नेपाली फिल्म ‘होस्टेल ३’ फागुन २३ देखि प्रदर्शन तयारीमा छ । संगीतमा सफलता पाउने सपनालाई पछ्याउँदै काठमाडौं आएका उनले अभिनय करिअरलाई पनि सँगै अघि बढाइरहेका छन् ।

फिल्मको शीर्ष भूमिकामा रिहान पनि छन् । ट्रेलरमा उनको क्यारेक्टर लुक्स देख्न सकिन्छ । फिल्मको प्रचारका लागि नेपाल आएका रिहानले अनलाइनखबरसँग कुराकानी गर्दै फरक गरौं कि भन्ने सोचले फिल्ममा लागेको बताउँछन् ।

‘अभिनयमा लाग्छु भन्ने सोच थिएन तर गीतसंगीतमा लागि रहँदा केही फरक गरौँ भन्ने सोचले फिल्ममा लागेँ । राम्रो कथा अनि मलाई सुहाउने पात्र पाए राम्रो हुन्छ भन्ने सोचले नै फिल्मको लागि तयार भएको थिए र राम्रो पनि भयो’ उनले भने ।

भुटानबाट आएर नेपालमा फिल्म करिअर बनाउनु रिहानको लागि सजिलो पक्कै थिएन । ‘मलाई नेपाली पढ्न पनि आउँदैन, स्क्रिप्ट पनि मेरो लागि अंग्रेजीमा बनाइदिनुभएको थियो । सुट गर्दा कति कुरा बुझ्न नि गाह्रो भएको थियो’ उनले छायांकन अनुभव सम्झिए, ‘अनुहारको हाउभाउसँग भावनालाई पनि देखाउँदै अभिनय गर्नुपर्ने रहेछ । टिम र उमेरअनुसार सुहाउने पात्र सबै मिलेको हुनाले सोचेभन्दा सजिलो अनुभव भयो ।’

उनले अघि भने, ‘फिल्ममा अभिनय त गरेँ तर कामदेखि सन्तुष्ट छैन । कति कुरा अहिले हेर्दा लाग्छ फेरी गर्न पाए राम्रो गर्थेँ होला । पहिलो फिल्मले धेरै कुरा सिक्न मद्दत गर्‍यो ।’

अभिनयमा लागे पनि रुचि भने फिल्म मेकिङ रहेको उनले बताए । भन्छन्- ‘मेरो रुचि फिल्म निर्माण गर्नेमा धेरै छ । अभिनय गरेपछि फिल्मको बारेमा धेरै बुझ्ने अवसर पनि मिल्यो । कुनै दिन आफ्नै फिल्म पनि निकाल्ने छु ।’

संगीतमा छवि बनाइसकेका रिहान फिल्ममा लाग्दा प्रश्न उठ्छ- अब संगीतलाई अघि बढाउने कि फिल्मलाई ? यसबारे उनी भन्छन्, ‘सङ्गीतलाई म जीवन रहुन्जेल अगाडि लैजाने छु । संगीतले गर्दा नै सबैको अगाडी एउटा आफ्नो पहिचान बनाउन पाएको छु, जसले गर्दा संगीत सँधै मेरो साथमा हुने छ । अभिनयलाई पनि आफू सँगसँगै अगाडी लैजाने छु ।’

पहिलो एल्बम ‘भिज्यो संसार’को गीत बनाउन उनी अहिले ब्यस्त छन् । ३ मिनेटको हातले बनाएको एनिमेसन भिडियोसहितको गीत आउँदै गरेको उनले बताए । भुटानमा बसेर संगीतसँगै फिल्मलाई निरन्तरता दिने उनको सोच छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
प्रतीक्षा रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?