+
+
Shares

आठ कविका कवितासँगै सुरु भयो काठमाडौं उत्सव

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १३:३३

साहित्य, संस्कृति र कलाको उत्सव, काठमाडौं उत्सव आजबाट सुरु भएको छ । नेपाल पर्यटन बोर्डको हलमा आठ जना स्थापित कविहरूका कविता वाचनबाट उत्सव सुरुभयो ।

उद्‍घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वैरागी काइँला, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, तुलसी दिवस, होमनाथ सुवेदी र दिनेश अधिकारीले आफ्ना कविता सुनाए ।

उद्‍घाटन सत्रमा आफ्नो छोटो मन्तव्य राख्ने क्रममा काठमाडौं उत्सवका सल्लाहकार ओम रिजालले भने, ‘यो महोत्सव कला, संस्कृतिका धरोहरहरूसँगै भुइँमान्छेका आवाजसमेत समेट्ने उत्सव हो।’

दुई दिनसम्म चल्ने उत्सवमा जम्मा १५ सत्र हुनेछन्। उत्सवमा धेरैभन्दा धेरै युवा पुस्ताको काम, उपस्थिति र सोचलाई प्राथमिकता राखिएको उत्सवका संयोजक बाबु त्रिपाठीले बताए।

नाममै काठमाडौं जोडिएको उत्सवको पहिलो दिनको पहिलो सत्र काठमाडौंकै संस्कृति विशेष हुँदैछ। सत्रमा ‘सम्पदा, संस्कृति र सभ्यता’ शीर्षकमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले काठमाडौँको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षबारे छलफल गर्नेछन्। सत्रको सहजीकरण पत्रकार राजेन्द्र बाँनियाले गर्नेछन्।

उत्सवको पहिलो दिन लेखक ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच ‘अक्षरका आयामहरू’ शीर्षकमा अर्को छलफल हुँदैछ। लोकप्रिय गायिका शान्तिश्री परियारको संर्घर्षदेखि सफलतासम्मको अर्को सत्र पनि पहिलो दिनको मुख्य आकर्षण हो। शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा छलफल गर्नेछिन्।

ज्ञान विवेक र विज्ञान’ विषयमा हुने अर्को सत्र लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्। विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीसँग ‘सानो संसार, ठूलो संसार’ शीर्षकमा भलाकुसारी गर्नेछिन्।

अर्को सत्रमा राजेन्द्र सापकोटा, जिस्वन तुलाधर श्रेष्ठ र लक्ष्मण गौतमबीच पर्यटनमा पहल शीर्षकमा छलफल हुँदैछ। सत्र सहजीकरण पत्रकार विराट अनुपमले गर्नेछन्।

उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ। दशकौंदेखि मकै र चिया बेचेर लामो अनुभव सँगाले दुई वक्ताहरूको अनुभव समेटिको भुइँका कुरा शीर्षकको सत्र लेखक विना थिङले सञ्चालन गर्नेछिन्।

संवाद र कविता गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौँको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?