
१६ फागुन, काठमाडौं । लोक सेवा आयोगले नेपालमा आयोगको गठन र प्रदेशसँगको सम्बन्धबारे दक्षिण अफ्रिकी मोडेल अपनाउने प्रस्ताव गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुसार संशोधन हुन लागेको निजामती सेवामा लोक सेवा आयोगबारे कस्तो मोडेल अपनाउन सकिन्छ भनेर आयोगले विभिन्न देशको अभ्यासको अध्ययन गरेर यस्तो प्रस्ताव गरेको हो ।
छिमेकी मुलुक भारत, बेलायत, ब्राजिल, दक्षिण अफ्रिका लगायतका देशको निजामती सेवाको अभ्यासरत मोडेलबारे अध्ययन गरेको आयोगले नेपालको सन्दर्भमा दक्षिण अफ्रिकी मोडेल उपयुक्त हुने सुझाएको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार दक्षिण अफिकामा केन्द्रीय लोक सेवा आयोग १४ सदस्यीय छ । जहाँ सरकारले एक जना अध्यक्ष र चार जना सदस्य नियुक्त गर्छ । बाँकी ९ जना प्रत्येक प्रदेश सभाबाट एक/एक जना नियुक्त भएर आउँछन् । दक्षिण अफिकामा ९ वटा प्रदेश छन् ।
प्रत्येक प्रदेश एसेम्बलीले केन्द्रीय लोक सेवा आयोगको सदस्यको रूपमा एक/एक जना सदस्य नियुक्त गरेर पठाउँछन् । यसरी बनेको १४ सदस्यीय लोक सेवा आयोगको बैठक तीन/तीन महिनामा र आवश्यकता अनुसार बस्ने कानुनी व्यवस्था छ ।
केन्द्रीय लोक सेवा आयोगले जे जति नीतिगत/निर्णयहरू गर्छन् ती निर्णयहरू लिएर प्रदेशबाट सिफारिस भएको सदस्य आफ्नो प्रदेशमा जान्छ । त्यही नीति अनुसार प्रदेशमा कर्मचारी भर्ना सम्बन्धी कार्य हुन्छ । यस्तै नीति नेपालको सन्दर्भमा समेत उपयुक्त हुने सुझाउँछन् लोक सेवा आयोगका अध्यक्ष रेग्मी ।
‘त्यस अभ्यास (दक्षिण अफ्रिकी मोडेल) ले राष्ट्रिय एकतालाई पनि सुदृढ गरायो र स्थानीय आवश्यकता अनुसार पनि त्यसले काम गर्ने र स्थानीय परिस्थिति अनुसार पनि काम गर्ने मौका पायो । यो अनुरोध गर्न चाहेँ,’ अध्यक्ष रेग्मीले बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने ।
उनका अनुसार आयोगले संसारभरिका लोक सेवा आयोगको अभ्यास अध्ययन गरेको छ । व्यक्तिगत रूपमा पनि आफूलाई दक्षिण अफ्रिकी मोडेल नै उपयुक्त लागेको अध्यक्ष रेग्मीले दोहोर्याए । उनी भन्छन्, ‘संसारभरिका अभ्यासको अध्ययन गर्दा मलाई व्यक्तिगत रूपमा पनि नेपालका लागि दक्षिण अफ्रिकाको मोडेल उपयुक्त लाग्यो ।’
यो मोडेल अपनाउँदा संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका बीचमा लिंकेज हुने र राष्ट्रिय एकताको सन्दर्भमा समेत यो फलदायी हुने रेग्मीको तर्क छ ।
नेपालको संविधानमा के छ ?
तर, नेपालको संविधानले भने प्रदेश लोक सेवा आयोगको गठनको सम्बन्धमा प्रदेश कानुन र संघीय लोक सेवा आयोगको गठन संघीय कानुन अनुसार हुने परिकल्पना गरेको छ । प्रदेश लोक सेवा आयोग र संघीय लोक सेवा आयोगको गठनमा संघ र प्रदेश सरकारको संयुक्त कार्यको परिकल्पना गरेको छैन ।
संविधानको धारा २४२ मा संघीय लोक सेवा आयोग सम्बन्धी व्यवस्था छ । जहाँ पाँच सदस्यीय संघीय लोक सेवा आयोग गठन हुने भनिएको छ । यो आयोगको पदावधि ६ वर्षको हुन्छ । यही प्रावधान अनुसार संघीय लोक सेवा आयोग गठित छ । संविधानको धारा २४३ मा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ ।
प्रदेश लोक सेवा आयोगसम्बन्धी व्यवस्था संविधानको धारा २४४ मा छ । जहाँ प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने भनिएको छ ।
संघीय संसद्ले प्रदेश लोक सेवा आयोगको आधार र मापदण्ड ऐन, २०७५ बनाएको छ । जसमा प्रदेश लोक आयोगको गठन प्रदेश सभाले बनाएको ऐनबमोजिम हुने भनिएको छ ।
प्रदेश आयोग गठन गर्दा कम्तीमा एउटा सदस्य सरकारी सेवाबाट अवकाश भएको हुनुपर्ने, विधि, पद्धति, मापदण्ड, कार्यविधि, प्रक्रिया प्रदेश आयोगले पूरा गर्नुपर्ने र संघीय विधि पद्धति नअपनाई प्रदेश लोक सेवा आयोगले गरेको सिफारिस नियुक्ति स्वतः बदर हुने आधार र मापदण्ड ऐनमा उल्लेख छ । यसअनुसार प्रदेश लोक सेवा आयोग गठन भएका छन् ।
नेपालको संविधानले परिकल्पना नै नगरेको दक्षिण अफ्रिकी मोडेल अभ्यास गर्नु उपयुक्त हुने भनेर लोक सेवा आयोगले प्रस्ताव गरेको हो ।
प्रदेश लोक सेवा आयोगलाई संघीय लोक सेवा आयोगसँग अन्तरसम्बन्ध स्थापित गर्दा सुशासन र राष्ट्रियतामा समेत सकारात्मक असर पर्ने उनको मत छ
तीनै तहमा संघीय कर्मचारी
संघ, प्रदेश र स्थानीय तहमा संघीय सेवाको समेत कर्मचारी रहने व्यवस्थाको प्रस्ताव पनि लोक सेवा आयोगको छ ।
निजामती सेवा विधेयकमाथिको बहसमा प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत कुन सरकार मातहत रहने भनेर छलफल हुने गरेको आयोग अध्यक्ष रेग्मीलाई उचित लागिरहेको छैन ।
उनी भन्छन्, ‘यहाँ निजामती सेवा ऐन बन्ने सन्दर्भमा प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत कहाँको हुने भन्ने विवाद छ अथवा छलफल छ भन्ने हामी सुन्छौं, हेर्छौं, बुझ्छौं र यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । संघको कर्मचारीले प्रदेश र स्थानीय तहमा गएर काम गर्दा केही बिग्रँदैन ।’
संघको कर्मचारीले प्रदेश र स्थानीय तहमा गएर काम गर्दा राष्ट्रिय एकतालाई सुदृढ गर्ने उनको विश्वास छ ।
अगाडि भन्छन्, ‘यस (संघको कर्मचारीले प्रदेश र स्थानीय तहमा गएर काम गर्दा) ले राष्ट्रिय एकतालाई सुदृढ गराउँछ । भारतले गौरवका साथ भन्छ– स्टिल फेमवर्क । कर्मचारी प्रशासनतन्त्रको स्टिल फेमवर्कको कारणले गर्दा इन्डिया सुरक्षित छ । जुनसुकै पनि विवाद समाधान गर्ने भएको छ ।’
तर, नेपालमा संघको कर्मचारी प्रदेश र स्थानीय तहमा गएर काम गर्दा त्यो कसरी स्वायत्तता भयो भनेर छलफल हुने गरेको भनेर उनले असन्तुष्टि जनाए ।
‘हामी चाहिँ कस्तो गरिराखेका छौं भने संघको कर्मचारी प्रदेश र स्थानीय तहमा गयो भने कसरी स्वायत्ततता भयो भन्ने खालको कुरा गरिराख्या छौं’ रेग्मीले असन्तुष्टि जनाए ।
संसारका धेरै मुलुकमा संघको कर्मचारी प्रदेश र स्थानीय तहमा गएर काम गर्ने अभ्यास भइराखेको भन्दै उनले थपे, ‘यो संसारको अनुभवबाट पुष्टि भएको विषयलाई हामीले अन्यथा तिर जान हुन्छ जस्तो मलाई लाग्दैन ।’
संघको कर्मचारी प्रदेश र स्थानीय तहमा गएर काम गर्दा राष्ट्रिय एकता सुदृढ हुने उनले दोहोर्याए ।
‘राष्ट्रिय एकता सुदृढ गर्नका लागि पनि देशका सातै वटा प्रदेश र ७५३ वटै स्थानीय सरकारमा एउटै प्यारामिटरबाट नियुक्ति गरेको कर्मचारीले गएर काम गर्ने हो भने एकै खालको सुशासन सबै ठाउँमा सम्भावना छ,’ उनले भने ।
अन्यथा, सुशासनको विषयमा प्रश्न उठ्न सक्ने उनको चेतावनी छ ।
अगाडि थप्छन्, ‘प्रदेशबाट स्थानीयका लागि नियुक्ति गरेको कर्मचारी भयो त्यो प्रदेशको स्तर र त्यहाँ काम गर्ने कर्मचारीको स्तर अनुसार त्यसमा सुशासनमा अझ बढी कमजोरी हुन्छ जस्तो लाग्छ । हामीले निजामती सेवा ऐनको बारेमा दिएको सुझावमा पनि यही कुरा उल्लेख छ ।’
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ । राज्य व्यवस्था समितिलाई आयोगले दिएको सुझावमा प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकार अन्तर्गतकै हुनुपर्ने उल्लेख छ ।
संघको कर्मचारी प्रदेश र स्थानीय सरकारमा हुन हुँदैन भन्नेलाई भारतको अभ्यास हेर्न अध्यक्ष रेग्मीको सुझाव छ । भारतमा संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग दुवै छ । तर, आईएस अफिसर, आईपीएस अफिसर र आईएफएसको प्रदेश प्रमुख र जिल्ला प्रमुखसंघले नियुक्ति गरेको कर्मचारी नै व्यवस्था रहेको उनले बताए ।
‘संघको सरकारमा त काम गर्यो गर्यो प्रदेश सरकारमा पनि संघ सरकारको लोक सेवा आयोगले नियुक्ति गरेको नै आईएस अफिसर र आईपीएस अफिसरले काम गर्छ,’ उनले भने ।
जिल्ला जिल्लामा पनि संघ सरकारले नियुक्त गरेको कर्मचारीले नै प्रमुखको रुपमा काम गर्ने अभ्यास भारतमा रहेको उनले बताए ।
प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकार अन्तर्गत हुने भएपछि प्रदेश लोक सेवा आयोग किन चाहियो भन्ने प्रश्नमा रेग्मी यो विचारणीय विषय रहेको बताउँछन् ।
उनी भन्छन्, ‘…प्रदेश लोक सेवा आयोगहरू छ तर संघका लोक सेवा आयोगका कार्यलय पनि प्रदेश स्तरमा छ्न र प्रदेश लोक सेवा आयोगहरू पनि स्थापना भएका छन् । सरसर्ती हेर्दा काममा डुब्लिकेसन जस्तो पनि देखिन्छ । आवश्यक हुन कि होइनन् जस्तो पनि देखिन्छ ।’
यही विषयमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत छलफल भएको रेग्मीले स्मरण गरे ।
‘त्यहाँ (राज्य व्यवस्था समितिमा) एक जना माननीय सदस्यले प्रदेश लोक सेवा आयोग गठन भइसक्यो, अब संघको लोक सेवा आयोग खारेज हुँदैन ? भनेर प्रश्न सोध्नुभएको थियो’ रेग्मीले सुनाए ।
जवाफमा आफूले उल्टो किसिमले सोच्न आग्रह गरेको बताए ।
‘मैले उहाँलाई त्यसलाई उल्टा किसिमले सोच्न अनुरोध गरेँ । त्यो भनेको संघको लोक सेवा आयोग सबै ठाउँ (सातै प्रदेश) मा हुँदा हुँदै प्रदेश लोक सेवा आयोग किन गठन गरिदिनुभयो ? त्यो चाहीँ पो बिचार गर्ने हो कि ?’ राज्य व्यवस्था समिति सदस्यलाई दिएको जवाफ रेग्मीले संघीयता सवलीकरण समितिका सदस्यलाई सुनाए ।
प्रतिक्रिया 4