+
+
Shares

यो साता २.६ प्रतिशत बढ्यो बजार, कस्तो रहला आगामी साता ?

यस्ता छन् मूल्य धेरै बढेका र घटेका १०/१० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १६:१४

१६ फागुन, काठमाडौं । यो साता सेयर बजार ७२ अंक अर्थात् २.६ प्रतिशत बढेको छ ।

गत साता २७४३ अंकमा रहेको बजार यो साता २८१५ मा पुग्यो । यो साता कारोबार भएका चारै दिन बजार बढ्यो । बुधबार सार्वजनिक विदाका कारण बन्द रह्यो । पहिलो दिन आइतबार ११.६६ अंक बढेको बजार सोमबार ३.३५, मंगलबार ७.१३ र बिहीबार ४९.१५ अंक बढ्यो ।

यो साता कारोबार रकम पनि उल्लेख्य रह्यो । औसत दैनिक १० अर्ब ९७ करोडको कारोबार भयो । आइतबार ११ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ११ अर्ब ८ करोड, मंगलबार ९ अर्ब ९० करोड र बिहीबार ११ अर्ब ३९ करोडको भयो ।

छिमेकी मुलुक भारतको बजार यतिबेला घट्दो क्रममा देखिएको छ । तर  यहीं बेला नेपालको बजार बढिरहेको छ ।  भारतीय बजार ५ महिनामै १४ प्रतिशतले घटेको छ । ५ महिनाअघि ८५,८३६ अंकमा रहेको बीएसई सेन्सेक्स हाल ७३,६०० हाराहारी अंकमा झरेको छ ।

अन्य सेक्टर हालसम्मकै उच्च, के हो कारण ?

यो साता बजारमा अन्य सेक्टर सबैभन्दा धेरै १०.५ प्रतिशत बढ्यो । गत साता पनि यहीं सेक्टर सबैभन्दा धेरै ७.२३ प्रतिशत बढेको थियो । अन्य सेक्टर हालसम्मकै उच्च २४७४ अंकमा पुगेको छ ।

अन्य सेक्टरमा सूचीकृतमध्ये दुई पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरमा बढ्दा सिर्जित शक्तिले समग्र सेक्टरले नयाँ रेकर्ड बनाएको हो ।

यी दुई कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी २०–२० अर्ब पुर्‍याउनुपर्नेछ । दुवै कम्पनीले हकप्रद र बोनस सेयरबाट पुर्‍याउनेछन् । यसले गर्दा लगानीकर्ता हकप्रद र बोनस सेयरको आशमा दौडिएको देखिन्छ ।

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । यो कम्पनीले हकप्रद र बोनस सेयरमार्फत करिब ६ अर्ब ५८ करोड रुपैयाँ थप्नुपर्ने छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ छ । यो कम्पनीले पनि हकप्रद र बोनस सेयरमार्फत करिब ९ अर्ब ६० करोड थप्नुपर्ने छ ।

अन्यपछि यो साता उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखियो । सो सेक्टर ६.९८ प्रतिशत बढ्यो । समग्र बजार बढ्दा पनि केही सेक्टर भने घटेका छन् । फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स, होटल तथा पर्यटन र व्यापार सेक्टर घटे । सबैभन्दा शक्तिशाली रहेको बैंकिङ सेक्टर ३.४७ प्रतिशत बढ्यो ।

यो साता धेरै कारोबार भएका कम्पनी

यो साता रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो । सो कम्पनीको ३ अर्ब ८४ करोडको कारोबार भयो ।

त्यसपछि क्रमशः नेपाल पुनर्बीमा, एनआरएन इन्फास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, सिटिजन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, एचआईडीसीएल, निफ्रा, नारायणी डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः अगाडि रहे ।

त्यस्तै कारोबार संख्याका आधारमा पनि हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो । त्यसपछि क्रमशः नेपाल रिइन्स्योरेन्स, निफ्रा, सिटिजन लाइफ, घलेम्दी हाइड्रोपावर, एचआईडीसीएल, सोनापुर, गार्डियन माइक्रोलाइफ, घोराही सिमेन्ट र सन नेपाल लाइफ क्रमशः अगाडि रहे ।

कस्तो रहला आगामी बजार ?

पछिल्लो पटक बजारमा लगानीकर्ताको खरिद पक्ष आक्रामक देखिएको छ । ‘फियर एण्ड ग्रीड’ मिटरअनुसार लगानीकर्ताको मनोभावना ग्रीड जोनमा पुगेको छ ।आरएसआईले बजार ‘ओभरबाउट’ जोनमा पुगेको देखाएको छ ।

साउन ३१ गते ३ हजार अंकमा पुगेको बजार त्यसयता न्यूनतम विन्दु १३ असोजमा २४६४ अंक कायम भएको थियो । सोही अंकलाई लगानीकर्ताले ‘बटम प्वाइन्ट’का रुपमा बुझेका छन् । अब बजार बढ्ने विश्वास लगानीकर्तामा देखिन्छ ।

विगत दुई सातादेखि नै बजार लगातार रहेकाले ‘करेक्सन’को संभावना पनि उत्तिकै छ । तर करेक्सन अब ठूलो नहुने अनुमान गरिएको छ । बिहीबार मात्रै बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेकाले केही दिन बैंकिङले बजारलाई बढाउने अनुमान छ ।

मौद्रिक नीतिको समीक्षाले बैंकहरुलाई असल कर्जामा छुट्याउनुपर्ने प्रोभिजन दर १.१ बाट १ प्रतिशतमा झारेकाले नाफा बढ्ने अनुमान छ । बैंकिङ सेक्टर बढ्ने सुरुवाती आधार यसले नै खडा गरेको छ ।

तर बीचबीचमा करेक्सन देखिने सम्भावना रहन्छ । लगानीकर्ता सुवासचन्द्र ढुंगानाले यतिबेला हाइ क्याप कम्पनीमा आकर्षण देखिएकाले अब हाइ क्याप कम्पनीले नै बजारलाई माथि लैजाने बताउँछन् ।  ‘बजार बढ्दै जाने नै हो, यसको अर्थ लगातार बढ्ने भन्ने हुँदैन, बेला बेला करेक्सन हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?