रित्तै मान्छे पनि हिँड्न कठिन भीरको बाटो । ४–५ जना युवाले निकै कठिनसँग स्ट्रेचरमा बिरामी बोकिरहेका छन् । बिरामी बोक्ने मध्येका एकजनाले परिस्थितिको व्याख्या गरिहेका छन् । उनी भन्छन्, ‘एम्बुलेन्स भनेकै यो स्ट्रेचर हो ।सवारी साधन भनेका हामी(बोक्ने मान्छे) हौँ ।’
उनी अगाडि भन्दै जान्छन्–यति भन्दै गर्दा तपाईहरूको मनमा थुप्रै प्रश्नहरू जाग्न सक्छ, के हिमा गाउँपालिकाका मान्छेहरू अझै पनि जंगली युगमा जीवन बिताइरहेका छन् ? हो, हिमा गाउँपालिकाका बासिन्दामध्ये करिब ९० प्रतिशतले यसरी नै जंगली युगमा झैँ जीवन बिताइरहेका छन् ।
४ मिनेट लामो भिडियोमा ती युवाले बाटोको बारेमा, स्थानीय सरकारका बारेमा, एम्बुलेन्स र गाउँको अवस्थाका बारेमा विभिन्न कुरा सुनाएका छन् ।
फेसबुकमा धेरैले यो भिडियो सेयर गर्दै दु:ख व्यक्त गरेका छन् । स्वास्थ्य सेवा लिन दुगर्ममा व्यहोर्नु पर्ने हैरानीलाई भिडियामा देखाउन खोजिएको छ।
कहाँको हो भिडियो ?
उक्त भिडियो जुम्ला जिल्लाको हिमा गाउँपालिका–७ को रहेको पाइयो । यो त्यही गाउँ हो, जहाँ केही दिनअघि नेत्र विक्रम चन्द ‘विप्लव’ स्याउ रोप्न पुगेका थिए ।
जुम्लाकै गगन बुढाले फागनु १४ गते बेलुका आफ्नो फेसबुक पेजमा भिडियो पोस्ट गरेका थिए ।
आफैँले भिडियो बनाएको र भिडियोमा बोल्ने व्यक्ति आफैँ भएको गगनले बताए । हिमा गाउँपालिका–७ कुडुका गगन जिल्ला सदरमुकाम बस्दै आएका छन् ।
आफूलाई फोटोग्राफी सिक्दै गरेको बताउने उनले जिल्लाका विभिन्न विषयमा भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने गरेको देखिन्छ ।
गगनका अनुसार कुडु गाउँकै ४५ वर्षीया रुकु शाहीको कर्णालाी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि फागुन १४ गते उनलाई पुर्याउन गगन पनि गाउँ गएका थिए ।
अस्पतालबाट नाग्मा बजारसम्म करिब ३२ किलोमिटर गाडीमा लगेर ६ किलोमिटर जति स्ट्रेचरमा बोकेर गाउँ पुर्याइएको गगनले जानकारी दिए ।
‘हाम्रो वडामा ४ वटा गाउँ छन्, यहाँ सबैको बाध्यता यस्तै हो’ गगनले भने, ‘हामीले थाहा पाएदेखि यस्तै चल्दै आएको छ ।’
बिरामी बोकेर लगेको बाटो भिडियोमा देखिए भन्दा पनि बढी अप्ठेरो रहेको उनको दावी छ । ‘त्यो भन्दा अप्ठ्यारो छ बाटो’ गगन भन्छन्, ‘भिडियो त केही ठाउँको मात्रै हो ।’
गगनका अनुसार गाउँका धेरैजसो पुरुषहरू पैसा कमाउन भारत जाने गरेका छन् । गाउँमा बिरामी बोक्न सक्ने मान्छे पाउनै पनि मुस्किल छ ।
‘तपाईले भिडियोमै पनि देख्न सक्नुहुन्छ नि, बिरामी बोक्ने ४ जना भाइहरू किशोर उमेरका छन्’ गगन भन्छन्, ‘काम गर्न सक्ने पुरुषहरू प्राय इन्डिया जान्छन् ।’
करिब साढे २ घण्टा लगाएर बिरामीलाई घर पुर्याएको उनले सुनाए।
गगनले भिडियोमै भनेका छन्–गाउँमा संघीयता लागू हुनुअगाडि नै मोटर बाटोको खुलिसकेको थियो। स्तरोन्ति हुनसक्दा सवारी चल्ने अवस्था नभएको उनले बताएका छन्।
‘यहाँको बाटोमा सामान बोक्ने ट्याक्टर बल्लबल्ल हिँड्छ । दुई जना भएर ठाउँ–ठाउँ ठेल्दै लग्यो भने मोटरसाइकल लान सकिन्छ । गाडी जाँदैन’ गगनले प्रस्ट्याए ।
गाडी नै गुड्ने भएपनि भर्खर अप्रेसन गरेको बिरामीलाई लैजाँदा टाँका खुस्किने डर रहेको गगन बताउँछन्।
गगनका अनुसार केही दिनअघि विप्लवले स्याउ रोप्न जाने बेला उनको पार्टीले डोजर लगेर बाटो अलिअलि सम्याएको थियो । बिहीबार राति पानी परेकाले त्यो बाटो उस्तै हुने उनी बताउँछन् ।
एम्बुलेन्ससँग जोडेर उनले जनप्रतिनिधिहरूलाई विभिन्न आरोप पनि लगाएका छन् । आफूले भनेका सबै कुरा यथार्थ भएको दावी उनको छ।
स्थानीय सरकारलाई बदनाम गर्न खोजियो : वडाअध्यक्ष
भिडियोमा देखिएको कुरा वास्तविकता भन्दा भिन्न रहेको हिमा गाउँपालिका–७ का वडाअध्यक्ष विक्रम बहादुर शाही बताउँछन् । ‘भिडियो मैले पनि हेरेँ, नभएका कुरा देखाएर स्थानीय सरकारलाई गिराउन खोजिएको छ’ शाहीले भने, ‘त्यहाँ भनेजस्तै भीरको बाटो बिरामी बोकेर लानु पर्ने अवस्था छैन ।’
गाउँपालिकामा ३ वटा एम्बुलेन्स रहेको वडाअध्यक्ष शाहीले जानकारी दिए।
शाहीका अनुसार कुडु गाउँमा एम्बुलेन्सहरू गइरहेका छन् । सिकिस्त बिरामी, सुत्केरी महिला र ६० वर्षमाथिका बिरामीलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराउँदै आएको दावी शाहीले गरे।
उनीहरूले जो बिरामी बोकिरहेका छन्, उनको घरसम्मै बाटो गाडी पुग्ने शाहीले बताए । बोकेरै बिरामी लानु पर्दा पनि मोटरबाटो बाट जैलाने विकल्प हुँदाहुदै उनीहरूले भीरको बाटो लगेको शाहीको भनाइ छ।
‘ती बिरामीको घरमै गाडी जान्छ, एम्बुलेन्स किन मगाएनन् ?’ शाहीको प्रश्न छ, ‘रोडैरोड लैजाँदा सजिलो हुन्थ्यो भीरभीर किन लानुपर्यो ?’
वर्षायाममा गाह्रो भएपनि गाउँपालिकाको गाडी, एम्बुलेन्सहरू कुडु गाउँ हुँदै अर्को गाउँसम्म जाने दावी शाहीले गरे । ‘गाडी बन्द भएपनि स्ट्रेचरमा बिरामी बोकेर हिँड्न त कहिले बन्द हुँदैन नि ! शाही भन्छन्, ‘रोडबाटै लगेको भए सजिलो हुन्थ्यो।’
भिडियो बनाउने गगनले भने मोटरबाटो बाट जाँदा धेरै लामो पर्ने भएकाले छोटो बाटो लगेको जिकिर गर्छन् ।
‘हाम्रो गाउँको हिँड्ने बाटो नै यही हो, सबै हिँडेर आउ–जाउ गर्ने बाटै यही हो’ गगन भने ।
रोडबाटै बिरामी बोकेर लैजाँदा पनि १५–२० मिनेट मात्रै बढी समय लाग्ने दावी वडाअध्यक्ष शाहीको छ ।
त्यो उहिलेदेखि पुर्खाले हिँड्ने बाटो भएपनि अहिले त्यसको खासै प्रयोग नहुने शाहीले बनाए ।
यथार्थ कुरा मात्रै मिडियामा दिनुपर्ने शाहीको भनाइ छ । ‘बाटो कहाँ छ छैन ? गाडी जान्छ जाँदैन तपाईँहरू आएर हेर्दा पनि हुन्छ’ शाहीले भने ।
प्रतिक्रिया 4