
१६ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले देश विकासका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् ।
केही नेतालाई प्रधानमन्त्री र मन्त्री बनाउनका लागि मात्रै कांग्रेस-एमाले नमिलेको भन्दै उनले देश विकासका लागि स्थिर सरकार आवश्यक हुने भएकोले कांग्रेस-एमाले मिलेको बताए ।
‘अहिलेको समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउन मात्रै बनेको होइन,’ गृहमन्त्री लेखकले भने, ‘हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस् र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्नतिको यात्रामा अघि बढाउन सकियोस् भनेर बनाएका हौं ।’
शुक्रबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको ८औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको भन्दै छिट्टै सदनबाट स्वीकृत हुने दाबी गरे ।
‘केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानुन बनाउँछौं ।’
निजी तथा आवासीय विद्यालयहरूले आफूभित्र भएका समस्याहरू स्वःनियमन गरेर समाधान गर्नुपर्ने उनको सुझाव थियो ।
सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्र उत्साहित भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4