+
+
Shares

जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १७:५६

१६ फागुन, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएकी छिन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा भ्रमणबाट स्वदेश फर्किएपछि विमानस्थलमा परराष्ट्रमन्त्रीले यस्तै प्रतिक्रिया दिएकी हुन् ।

मन्त्री डा. देउवाले गत मंगलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । सो सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता थियो ।

नेपाल फर्किएपछि मन्त्री डा. राणाले मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरेहको जानकारी विश्व समुदायलाई गराउँदै सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइन् ।

संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग मन्त्री डा. राणाले आग्रह गरिन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र उनीहरूले पनि नेपाललाई सहयोग गर्ने वचन दिनुभएको मन्त्री डा.राणाले जानकारी दिइन् ।

यस भ्रमणका क्रममा मन्त्री डा.देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।

त्यसैगरी उनले जेनेभामा रहँदा स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायतका मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरूमा छलफल गरेकी थिइन् ।

साथै भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोगप्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग पनि मन्त्री डा देउवाले नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

मन्त्री डा.राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा गएकी थिइन्। उनीसहितको प्रतिनिधिमण्डल आज बिहान १०:३० मा काठमाठौँ आइपुग्ने कार्यक्रम रहेकोमा यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो। त्यसपछि कोलकाताबाट अपराह्न मात्र उहाँ काठमाडौँ फर्किएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?