+
+
Shares

मोटरसाइकलमा बाँधेर कुकुरलाई मरणासन्न हुनेगरी यसरी घिसारियो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १९:५७

तपाईं कल्पना गर्न सक्नुहुन्छ, कुनै अबोध पशुलाई मोटरसाइकलमा बाँधेर घण्टौंसम्म बेपर्वाह दौडाउँदा कस्तो हुँदो हो ? त्यो पनि व्यस्त सडकमा । त्यो पनि लामो दूरीमा । सिनेमामा त यस्तो दृश्य देख्दा मन बिथोलिन्छ, वास्तविकतामा कस्तो होला ? यस्तै विचलित बनाउने भिडियो अहिले सामाजिक सञ्जालमा पोस्ट भएको छ ।

भिडियोमा एक पुरुषले मोटरसाइकलको पछाडि कुकुरलाई बाँधेर रफ्तारमा दौडिरहेको देखिन्छ। कुकुर सकेसम्म मोटरसाइलकसँगै दौडिन प्रयास गरिरहेको हुन्छ । मोटरसाइकलको रफ्तारसँगै दौडिएको कुकुर थाकेर बाटोमै पछारिन्छ।

यसरी कुकुरलाई मोटरसाइकलमा बाँधेर लामो दूरीदेखि दौडाउँदै ल्याएको अनुमान गर्न सकिन्छ ।

सोही बाटोबाट कतै जाँदै गरेका युवाले मोटरसाइकल चलाकलाई रोक्छन् । सडकमा पसारिएको कुकुरलाई उनीहरूले पानी खुवाउँछन् । कुकुर बौरिन्छ । त्यसरी बाइकमा घिसार्दै नलैजान युवाले अनुरोध गर्छन्।

यति भयानक पीडा दिएर कुकुरलाई किन दौडाइयो ?

ग. १७. प. ३९३१ नम्बरको मोटरसाइकलमा यसरी कुकुरलाई बाँधेर घिसारेको देखिन्छ । व्यक्तिको पहिचान खुलेको छैन । उनले भिडियोमा यसो भनेको सुनिन्छ ‘कुकुर घरबाट भागेको कारण यसरी बाँधेर ल्याएको ।’ उनमा कुकुरप्रति कति पनि साहनुभूति देखिदैन । बरु उल्टै यसो भन्छन्, ‘यो हरामी साला, नाटक गर्छ ।’

उद्वारको प्रयास गर्ने युवाका अनुसार यो दृश्य पोखराको हो । पोखरा बजारबाट करिब पाँच किलोमिटर पर स्याङ्जातर्फ जाने बाटोमा उनीहरूले यसरी मोटरसाइकलमा कुकुरलाई घिसार्दै लगेको फेला पारेका थिए । कुकुरलाई पानी दिएपछि उनीहरू त्यहाँबाट हिँडे ।

पशु अधिकारकर्मी विना पन्तले उक्त व्यक्तिको खोजी भइरहेको बताइन् । ‘एउटा पशुलाई हदैसम्म यातना दिएको देखिन्छ’ उनी भन्छिन्, ‘यसरी अपराध गर्नेलाई पत्ता लगाएर कारबाहीका लागि पहल गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?