
१७ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीचको तिक्ततापूर्ण वार्ता बारे टिप्पणी गर्दै छिमेकसँग सम्बन्ध बिग्रँदा दुःख पाइनेरहेछ भन्ने महसुस भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीचको वार्ताको चर्चाका बीच महासचिव पोखरेलले शनिबार बिहान फेसबुकमा एक सन्देश पोस्ट गर्दै हरेक देशले आफ्नो छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने टिप्पणी गरेका हुन् ।
‘हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दोरहेछ’ उनले लेखेका छन्, ‘छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ।’
शान्ति र स्थायित्वका लागि हरेक देशले सोच्नुपर्ने उल्लेख गर्दै पोखरेलले एशियाली देशहरूले आपसी सम्बन्ध विकासमा जोड दिनुपर्ने बताए ।
ट्रम्प-जेलेन्स्की वार्ताबारे के भने पोखरेलले ?
अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ।
आज रूस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिंदैछ ।
शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नुपर्दछ । क्षेत्रीय शान्तिविना विश्व शान्ति सम्भव हुँदैन । त्यसमाथि एशियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एशिया विश्वसभ्यताको केन्द्रका रूपमा पुनः स्थापित हुने अवस्था छ ।
अमेरिकाको पछिल्लो रणनीतिले अबको एशिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरूबाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ ।
साथै, रूस र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ । यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिबाट एशियाली राष्ट्रहरू विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।
प्रतिक्रिया 4