+
+
Shares

कर्णालीका हिमाली जिल्लामा भारी हिमपात, कृषकहरू उत्साहित (तस्वीरहरू)

कर्णालीका हिमाली जिल्लामा भारी हिमपात भएपछि कृषकहरू खुसी भएका छन् तर केही दिनदेखि जाडो बढेकोले जनजीवन केही प्रभावित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १७ गते १४:१९

१७ फागुन, सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा भारी हिमपात भएको छ । शुक्रबार बिहानैदेखि कर्णालीका पहाडी जिल्लाहरूमा वर्षा भइरहेको छ भने हिमाली जिल्लाहरूमा भारी हिमपात भइरहेको छ ।

हिमपात र वर्षा शनिबार पनि जारी छ । लामो समयको खडेरीपछि हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सुक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ ।

हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँगै आएको वर्षातले किसानलाई राहत दिएको सर्केगाड गाउँपालिका हुम्लाकी उपाध्यक्ष देवकी तिमिल्सना बताउँछिन् । ‘समयमै पानी र हिमपात नुहँदा किसानका अन्नबाली सुक्नै लागेका थिए, हिजोदेखि निरन्तर परेर पानि र वर्षाले राहत भएको छ,’ उनले भनिन् ।

विशेष गरी कर्णालीको जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष भने ढिलोगरी हिउँ परेको जगदुल्ला गाउँपालिका डोल्पाका युवा भाष्कर बस्नेत बताउँछन् । ‘यहाँ यसरी हिमपात नभएको धेरै भएको थियो । हिजो बिहानै देखि निरन्तर हिमपात भइरहेको छ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘यसले गर्दा यार्सागुम्बा, जडीबुटी र खेतीपातीमा राम्रो प्रभाव पर्छ । कृर्षकहरु हर्षित छन् ।’

खासमा हिमालतिर अलि अगाडि नै हिमपात हुनुपर्ने हो तर, भएन । यसअघि पुस र माघमै हिमपात र वर्षा हुने गरेको थियो । यो पटक भने ढिलो गरी वर्षा भएको उनले बताए । हिमपात हुँदा जुम्लाका स्याउ तथा ओखर कृषकहरुपनि खुसी छन् । आकाशबाट पानी नपर्दा स्याउ र ओखरका बिरुवा रोप्न नसकिएको जुम्ला गोठिचौरका व्यवसायी चित्र बहादुर बुढा बताउँछन् । ‘लगाएको सबै अन्नबाली चौपट हुने अवस्था आएको थियो । हिमपात र वर्षाले थोरै भएपनि राहत दिएको छ,’ उनले भने ।

हिमपातले हुम्ला, मुगुको हवाई सेवा अवरुद्ध हुनुका साथै जनजीवन सामान्य रुपमा प्रभावित भएपनि किसानमा भने खुसीयाली ल्याएको उपाध्यक्ष तिमल्सिनाले बताइन् । हिमपात र वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले लजनाएको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?