+
+
Shares

राष्ट्रको हितमा रहेकाले सबै अध्यादेश पारित हुन्छन् : सञ्चारमन्त्री

अस्तव्यस्त रहेका शिक्षा, स्वास्थ्य, अर्थतन्त्र लगायतका क्षेत्रमा सुधार तथा सेवा प्रवाहलाई चुस्त बनाउन अध्यादेश ल्याइएकाले दुवै सदनबाट पारित हुने सरकारका प्रवक्ताको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १७ गते १५:२७

१७ फागुन, कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले ल्याएका सबै अध्यादेश संघीय सदनका दुवै सदनबाट पारित हुने बताएका छन् । अध्यादेशहरू राष्ट्रको हितलाई केन्द्रमा राखेर ल्याइएकाले पारित हुने उनको विश्वास छ ।

पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै उनले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित हुने विश्वास व्यक्त गरे ।

सरकारका प्रवक्तासमेत रहेका गुरूङले विकासको जनअपेक्षा पूरा गर्न सरकारले तत्काल केही ऐन संशोधन अत्यावश्यक ठाकेकाले अध्यादेश ल्याएको र ती अध्यादेश संघीय सदनका दुवै सदनमा प्रस्तुत भइसकेको बताए ।

‘सरकारले राम्रो काम गर्नका लागि ल्याएका सबै अध्यादेश संघीय सदनका दुवै सदनबाट पारित हुन्छन् भन्नेमा म विश्वस्त छु । किनभने, हामी सबैलाई आखिर चाहिएको जनताको हित नै त हो,’ उनले भने ।

उनले शिक्षा स्वास्थ, अर्थतन्त्र सबै क्षेत्र तहसनहसको अवस्था देखेपछि सरकारले सुधारको योजनासहित अध्यादेशबाट कानुन संशोधन गरेको दावी गरे । ‘स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, शिक्षा क्षेत्र त्यस्तै छ । आर्थिक क्षेत्र त्यस्तै छ । अस्तव्यस्तताभित्र सुधार कसरी गर्न सकिन्छ भनेर अध्यादेश ल्याएको हो,’ उनले भने ।

सदनबाट नियमित समयमा ऐन निर्माण गर्न धेरै समय लाग्ने गरेको हुनाले सरकारले अध्यादेशको बाटो समात्नु परेको उनको भनाइ थियो ।

मन्त्री गुरूङले भने, ‘नेपालको ऐन, कानुनमा एकैपटक धेरै सुधार गर्नुपर्ने देखिएकाले संवैधानिक प्रावधानअनुसार नै अध्यादेश ल्याइएको हो । हामीलाई के अनुभव छ भने संसद्बाट एउटा विधेयक पास गर्न पाँच वर्ष लाग्यो । सुशासन कायम र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन १२ कानुन संशोधन गर्न आवश्यक छ । संशोधन नगरिकन सुशासन हुँदैन, सार्वजनिक सेवा प्रवाह प्रभावकारी तत्कालै गर्नुपर्दछ । अध्यादेश पास हुन्छ, पास गराउनु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?