+
+
Shares

सरकारले दुईतिहाइको दम्भ छोड्नुपर्छ : कांग्रेस नेता साउद

कांग्रेस नेता साउद भन्छन्– ‘दुईतिहाइको सरकारले ल्याएको सुरक्षा विधेयकमा सयभन्दा बढी सांसदको संशोधन पर्नुले सरकारलाई दुईतिहाइको दम्भमा बस्नु हुँदैन भन्ने सन्देश दिएको बुझ्नुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १७ गते १९:०१

१७ फागुन, पोखरा । नेपाली कांग्रेसका नेता एनपी साउदले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुईतिहाइको दम्भमा बस्नु नहुने बताएका छन् ।

नेपाल भूतपूर्व सैनिक संघ, गण्डकी प्रदेशको शनिबार पोखरामा आयोजित प्रथम अधिवेशनको उद्घाटन समारोहमा उनले दुईतिहाइको दम्भ देखाएर सरकारले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउनु नहुने बताएका हुन् ।

‘सुरक्षा निकाय जस्तो गम्भीर विषयसँग सम्बन्धित विधेयकहरू दुईतिहाइको सरकारले ल्याउँदा सयभन्दा बढी सांसदहरूले संशोधन हालिसकेका छन्,’ नेता साउदले भने, ‘सरकारले ल्याएको जुन विधेयकमा सांसदहरूको क्वीक प्रतिक्रिया भएको छ । सुरक्षा निकाय जस्ता संस्थाहरूका बारेमा सरकार दुईतिहाइको दम्भमा बस्नु हुँदैन ।’

पूर्वगृहमन्त्री रहेका साउदले सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ कमजोर हुने गरी निजामति प्रशासनमा अधिकार राख्ने विषयले सुरक्षा निकायमा पर्न सक्ने दूरगामी असरका बारेमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिए ।

‘यस्तो बेलामा सरकार संवेदनशील हुनुपर्छ । यसले मुलुकको बाह्य सुरक्षा र आन्तरिक सुरक्षा पनि प्रभावित गर्न सक्ने भएको हुनाले चेन अफ कमान्ड कमजोर हुने गरेर निजामति प्रशासनमा अधिकार राख्ने कुराले सुरक्षा निकायहरूमा दूरगामी रूपमा के असर पर्ने हो भन्ने कुरामा गम्भीर छलफल, बहस हुन जरुरी छ,’ उनले भने ।

नेता साउदले संविधान संशोधनसहितका सात बुँदामा सहमति गरेर कांग्रेस–एमालेको सरकार गठन भएको सात महिना बितिसक्दा पनि संशोधनका लागि पहल नभएको पनि बताए ।

‘अहिलेको सरकार दुईतिहाइको सरकार छ । सात बुँदे सहमति गरेर सरकार गठन भएको हो । सात बुँदेको महत्वपूर्ण बुँदा के हो भने हामी संविधान संशोधन गर्ने भन्ने नै हो,’ उनले भने, ‘संविधान संशोधन गर्ने कुरामा सात–आठ महिना भइसक्यो, कसैले कलमसम्म चलाएको छैन ।’

साउदले संविधानमै १० वर्षमा पुनरावलोकन गर्ने भनेर उल्लेख गरिएको स्मरण गर्दै संविधान संशोधनको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘संविधान संशोधनको प्रक्रियालाई पहिले टुंगोमा पुर्‍याएर, त्यसपछि विभिन्न विधेयकहरू ल्याएर ऐनहरू बनाएर संशोधित संविधानअनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधन पछि र ऐन अगाडि आयो भने अहिले पास गरेको ऐनको दफामा भोलि संशोधन भइदियो भने ऐन फेरि पनि पंगु हुने अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?