
इलाम । लोकप्रिय लोकपप सांगीतिक समूह ‘कन्दरा’ पहिलोपटक इलामको कर्फोकमा गुञ्जिएको छ । राती ११ बजेसम्म ६ हजार दर्शकको उपस्थितीमा ब्याण्डले सांगीतिक जादू छर्यो ।
चिसो मौसमको पर्वाह नगरी दर्शकले सुरुदेखि अन्तिमसम्म ब्याण्डका हिट गीतमा झुम्दै साथ दिए । कन्सर्टमा सहभागि हुन इलामसहित वरपरका छिमेकी जिल्लासहित भारतका दार्जिलिङ, सिक्किम लगायतका थलोबाट समेत दर्शक कर्फोकमा पुगेका थिए ।
पुराना दर्शक मात्र होइन, १३/१४ वर्ष उमेरका समूहका दर्शकले समेत कन्दराको गीतहरू गाएर साथ दिए । पुरानो पुस्ताको नस्टाल्जिया र नयाँ पुस्ताको उत्साहको सम्मिश्रणले उक्त सांगीतिक रातलाई झन् अविस्मरणीय बनायो ।
कार्यक्रममा ‘तिमी पारि’, ‘तगारोमा रुमाल’, ‘बिचरा म’, ‘हङकङ पोखरा’जस्ता कालजयी पप गीतहरू गुञ्जिँदा दर्शक झुमिरहेका थिए । सांगीतिक यात्रामा कन्दराले ३२ वर्ष पार गरिसकेको भए तापनि, यसको लोकप्रियता अझै उच्च विन्दुमा छ भन्ने कुरा कर्फोकको भीडले पुष्टि गर्यो ।
सूर्योदय होटल व्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सहआयोजनामा कन्सर्ट गरिएको हो । संघका अध्यक्ष प्रज्वल प्रधानले स्थानीय पर्यटन प्रवद्र्धनको लागि कन्दराको ब्याण्डको कन्सर्ट आयोजना गरिएको बताए ।
पछिल्लो समय जुर्मुराएको यो लोकप्रिय ब्याण्ड अहिले ‘पहिला घरदेश अनि परदेश’ नारासहित देश तथा विदेशको भ्रमणमा छ । पोखरा र काठमाडौंमा ब्याण्डले प्रस्तुति दिइसकेको छ । बेलायतबाट अन्तर्राष्ट्रिय टूर सुरु गरेको ब्याण्डले कतार, युएई र हङकङमा प्रस्तुति दिइसकेको छ । चाँडै अस्ट्रेलिया, युरोप र अमेरिकामा पनि गुञ्जिने ब्याण्डको तयारी छ ।
ब्याण्डको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् ।
प्रतिक्रिया 4