+
+
Shares

प्याब्सन अध्यक्ष उम्मेदवारको नामै तोकेर एमालेको सर्कुलर

व्यवसायिक संस्थामा एमालेले प्रत्यक्ष हस्तक्षेप गरेर राजनीतीकरण गरेको भन्दै सर्कुलरको आलोचना भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते ९:१७

१८ फागुन, बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आसन्न केन्द्रीय महाधिवेशनमा पार्टीका उम्मेदवारलाई जिताउन नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षले गरेको सर्कुलर बाहिरिएको छ ।

प्याब्सनको महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुंदैछ । तर, उम्मेदवारी दर्ता नहुँदै एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले टिकाराम पुरी नेतृत्वको समूहलाई जिताउन सहयोग गर्न सर्कुलर जारी गरेको पत्र बाहिरिएको हो ।

एमाले प्रदेश अध्यक्ष कंडेलले फागुन ११ गतेको मितिमा जिल्ला अध्यक्षहरुलाई पत्र लेखेर प्याब्सन देशव्यापी सञ्जाल भएको महत्वपूर्ण संगठन भएको उल्लेख गर्दै महाधिवेशनमा निवर्तमान अध्यक्ष एवं हालका प्रमुख सल्लाहकार पुरीको अध्यक्षमा उम्मेदवारी हुने भन्दै विजयी बनाउन सर्कुलर पठाएका थिए । मोरङका पुरी एमाले कार्यकर्ता हुन् । नयाँ नेतृत्वका लागि फागुन २१ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

प्रदेशका १२ वटै जिल्ला अध्यक्षलाई सम्बोधन गरी पठाएको गोप्य सर्कुलर कुन जिल्ला अध्यक्षले बाहिर सार्वजनिक गरे भन्ने विषयले एमाले लुम्बिनीमा तरंग ल्याएको छ ।

सर्कुलरमा पुरी नेतृत्वको समूहलाई विजयी बनाउन जिल्ला र सो मातहतका कमिटी र पार्टी पंक्तिलाई समन्वय र सहयोग गर्न भनिएको छ । यसका लागि पार्वती रावत,भोजबहादुर शाह,टिकाराम पुरी र कृष्ण खनालसंग सम्पर्क गर्न सर्कुलरमा भनिएको छ ।

प्याब्सनको महाधिवेशनमा वर्तमान अध्यक्ष डिके ढुंगाना,वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी लगायत पनि अध्यक्षका दावेदार रहेका छन् ।

पार्टीको हस्तक्षेप भएको भन्दै चर्को आलोचना

प्याब्सन सबै दलमा आस्था राख्ने विद्यालय सञ्चालकहरुको साझा र स्वतन्त्र संस्था भएकोमा नेकपा एमालेले भातृ संस्था जस्ता बनाउन खोजेको भन्दै चर्को आलोचना भएको छ । ‘प्याब्सनलाई कुनै दलको भातृ संस्था जस्तो बनाउने गरी एमाले लुम्बिनीले जारी गरेको सर्कुलुर खेदजनक र आपत्तिजनक छ’, प्याब्सन लुम्बिनी प्रदेश सचिव कृष्ण शर्माले भने, ‘प्याब्सनमा कुनै अमूक दलको हस्तक्षेप स्वीकार्य छैन ।’

उम्मेदवारी दर्ता नहुँदै कोशी प्रदेशका पूरीलाई जिताउन एमाले लुम्बिनीले सर्कुलर जारी गर्नु आफैमा अस्वभाविक भएको भन्दै सचिव शर्माले यसले एमालेकै अन्य व्यक्ति उम्मेदवार बन्न पाउने संवैधानिक र लोकतान्त्रिक अधिकारलाई कुण्ठित गरी निरंकुश चरित्र प्रदर्शन भएको टिप्पणी गरे ।

‘यो सर्कुलरले प्याब्सनको नेतृत्वमा आउन चाहने एमालेकै अन्य कार्यकर्तामाथि अन्याय र पक्षपात भएको छ,कुनै एउटा व्यक्तिका लागि पार्टीले सर्कुलर जारी गर्दा अरुको अवमूल्यन र अपमान भएको छ’, शर्माले भने ।

एमाले निकट प्याब्सन लुम्बिनीका एक सदस्यले पनि स्वतन्त्र संस्थामा पार्टीले अमूक व्यक्तिलाई जिताउन सर्कुलर जारी गर्नु र गोप्य सर्कुलर बाहिरिनुले गलत सन्देश गएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?