१८ फागुन, नेपालगञ्ज । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता बाँकेको कोहलपुरमा सुरु भएको छ । शनिबार सम्पन्न पहिलो खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१औं मिनेटमा निराजनजंग शाहीले पहिलो गोल गरेका थिए । दोस्रो हाफको ६५औं मिनेटमा आयोजक क्लबकै क्षितिज थापाले दोस्रो गोल गरे । शाही र थापाको गोलबाट प्रेरित कोहलपुर रेसिङ साहारा फुटबल क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो ।
लुम्बिनी फुटबल एडेकेमी, घोराही दाङले भने थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । पहिलो खेलमा आफ्नो टिमलाई जिताउन पहिलो गोल गरेका कोहलपुर रेसिङ साहारा फुटबल क्लबका निराजनजंग शाही म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोागिताको दोस्रो दिन आइतबार दिउँसो २ बजे भारतको साहारा फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब नवलपरासीबीच खेल हुनेछ ।
प्रतियोगितामा घाना र भारतका क्लबसहित आठवटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4