+

मानसिक अवस्थाबाट गुज्रिनु मनोरोग होइन (भिडियो)

२०८१ फागुन  २८ गते ११:३२ २०८१ फागुन २८ गते ११:३२
मानसिक अवस्थाबाट गुज्रिनु मनोरोग होइन (भिडियो)

भावनाहरू हाम्रो जीवनका अभिन्न हिस्सा हुन्। दु:खी हुनु, उदास हुनु, पीडा महसुस गर्नु वा रुनु मस्तिष्कको स्वाभाविक प्रतिक्रिया हुन्। यी अवस्थालाई मानसिक समस्या भनेर ठान्नु गलत बुझाइ हो।

मानसिक स्वास्थ्यको कुरा गर्दा सधैँ रोगसँग जोडेर हेरिन्छ । मानसिक विचलन थोरै हुँदा पनि मनोरोग हो भन्ने गलत ठम्याइ धेरैको हुन्छ । मानसिक स्वास्थ्यलाई बुझ्न तीन प्रमुख पक्षलाई बुझ्नुपर्छः मानसिक स्वास्थ्य, मानसिक रोग र मानसिक अवस्थाबाट गुज्ररिनु।

यी तीनवटा पक्षलाई बुझ्नाले हामीलाई मानसिक स्वास्थ्य, मनोसमस्या र मनोरोग के हो ?  तिनीहरूको उपचारका बारेमा सही दृष्टिकोण दिन सक्छौँ ।

मानसिक स्वास्थ्य

जसरी शरीरको स्वास्थ्य हुन्छ, त्यसैगरी मन र मस्तिष्कको स्वास्थ्यलाई मानसिक स्वास्थ्य भनिन्छ। स्वस्थ मानसिकता भनेको आत्मविश्वास, सकारात्मक सोच र जीवनको उतार–चढ़ावलाई डटेर सामना गर्न सक्ने अवस्था हो।

मानसिक रोग

मानसिक रोग भनेको कुनै समस्याका कारण मस्तिष्कको सन्तुलनमा आउने गडबडी हो। डिप्रेसन, एन्जाइटी, विभिन्न प्रकारका पर्सनालिटी डिसअर्डरहरू मानसिक रोगका रूपमा चिनिन्छन्। यी अवस्थामा विशेषज्ञको परामर्श आवश्यक पर्छ।

मानसिक अवस्थाबाट गुज्ररिनु

जब कुनै परिस्थिति अनुकूल नलाग्दा मस्तिष्कले तनाव वा दुःखको संकेत दिन्छ, त्यो मानसिक अवस्था मात्र हो। अधिकांशले यो स्वभाविक प्रक्रियालाई मानसिक अवस्थालाई नै समस्या बुझेर गलत अर्थ लगाइरहेका हुन्छन् । जुन गलत हो ।

कुनै पनि व्यक्तिलाई पीडा महसुस भयो, रुन मनलाग्यो, दिक्क लाग्यो, कहिलेकाहीँ अनुकूल परिस्थिति भन्दा बाहिरको कुरा भएर मस्तिष्कले दिने प्रतिकूल प्रतिक्रियालाई मानसिक अवस्थाबाट गुज्रिरिहेको मात्र हो भन्न मिल्छ । जुन केही समयपछि आफैँ टर्दै जान्छ । यो अवस्थामा आत्तिन हुँदैन ।

मानसिक अवस्थामा स्वस्थ व्यक्तिको परिकल्पना कस्तो हुन्छ ?

दु:ख, पीडा, आवेग, उदासीपन आए पनि जीवनको गुणस्तरमा कुनै परिवर्तन आएको छैन वा खस्केको छैन भने त्यसलाई स्वस्थ अवस्था भन्न सकिन्छ । दु:ख, पीडा वा उदासीपन पनि समय, वातावरण र परिवेशले बनाउँछ । जुन स्वभाविक प्रक्रिया हो ।

मानसिक स्वस्थताको महत्व

सबैभन्दा चर्चा नभएको तर अति महत्वपूर्ण भनेको मानसिक स्वस्थता हो । यो भनेको मानसिक स्वास्थ्यलाई सुधार गर्ने केही नियम हुन्छन् । जसलाई पछ्याउँदा मानसिक समस्याले सताउन कम हुन्छ ।

मानसिक स्वस्थताका लागि केही अभ्यासहरू अपनाउनु आवश्यक छ :-

-भावनाहरू व्यक्त गर्ने बानी बसाल्नु

– जीवनमा नियमितता (रोजगार, अध्ययन, पारिवारिक समय)लाई सन्तुलनमा राख्नु

– सन्तुलित निद्रा सुनिश्चित गर्नु

– व्यायाम, ध्यान, र मनोरञ्जनका लागि समय निकाल्नु

– नकारात्मक सम्बन्ध वा विषाक्त वातावरणबाट टाढा रहनु

भावना अभिव्यक्तको अभ्यास

मानसिक स्वस्थतामा भावनात्मक स्वास्थ्य एकदमै महत्वपूर्ण हुन्छ । जीवनमा आइपर्ने जति पनि घटनालाई कसरी प्रतिक्रिया दिने ? परिवारको सदस्यलाई गुमाउँदा कसरी सामना गर्ने ? भन्ने कुरा भावनात्मक स्वास्थ्यमा पर्छ ।

परिवारजनको मृत्यु वियोग, घटना, विछोड, हार जस्तो परिस्थितिमा मनमा आएको कुराहरु दबाएर राख्यो भने मानसिक समस्याको रुप लिन बेर लगाउँदैन । किनकी त्यस्ता कुरा व्यक्तिको अवचेतन दिमागमा गएर बसिरहन्छ । बोझ भएर बस्छ । फलस्वरुप, विकारको रुपमा लामोसमयपछि आघातको रुपमा विकसित हुन सक्छ ।

 

त्यस्तोमा भावनात्मक रुपमा गरिने अभ्यासले यस्ता क्षणिक दु:ख पोख्न, सामना गर्न, भावनालाई आँसुमा प्रकट गर्न सिकाउँछ । यो हिन्दु धर्मको मृत्युपछि गरिने १३ दिने संस्कारमा पनि देख्न पाइन्छ ।

ती दिनमा अनेक व्यवहारमा नपरी एकै ठाउँमा जम्मा भएर मनको बह पोख्न, रुन र भावना साटासाट गर्नका लागि वातावारण बनाइएको भनेर बुझ्न सकिन्छ ।
नेवार समुदायमा त रोएरै हिँड्नु पर्ने चलन छ । यसले पनि लुकाइएको भावना रुवाइमार्फत पोखेर हल्का बनाउन मद्दत गर्छ ।

आत्महत्याको दर बढ्ने प्रमुख कारक : भावना नपोख्नु

पछिल्लो समय नेपालमा पनि भावनात्मक कुरा प्रकट गर्ने अभ्यास नभएकै कारण आत्महत्याको दर बढिरहेको पाइन्छ । गम्भीर प्रकारको मानसिक रोग लागेका नेपालीको संख्या ३ प्रतिशत रहेको राष्ट्रिय जनसांख्यिक सर्वेक्षणले देखाउँछ । त्यो आकँडा भनेको गम्भीर अनुपात नै हो ।

बालबालिकामा हेर्ने आकँडा पनि त्यस्तै छ । यस्तो हुनुमा भावनात्मक रुपमा प्रकट गर्न नजान्नु र प्रकट गर्न जरुरी छ भनेर थाहा नहुनु पनि हो । अर्को भनेको विषम परिस्थिति स्वभाविक र क्षणिक हुन्छ भन्ने बोध नहुनु पनि हो ।

यो समस्या कसरी सामना गर्ने भनेर न त पाठ्यक्रममा छ, न परिवारमा अभ्यास हुन्छ, न यसबारे कतै बहस हुन्छ । जसले गर्दा भावनात्मक समस्या कति आवश्यक छ भन्ने कुरा नै थाहा हुँदैन ।

ज्ञान नपाउँदा भावना प्रकट गर्ने सीप सिकेका छैनन् । व्यवहारलाई अभिव्यक्त गर्न जान्दैनन् । सोचलाई कसरी लैजाने भन्ने कुराको मेसो छैन । जसकारण मनभित्रै पिडाहरु गुम्साउने, आँसु लुकाउने, मनको वह नबिसाउने र सबै कुरा दबाउँदै जाँदा व्यक्ति भावनात्मकरुपमा कमजोर भई मानसिक समस्याको शिकार हुन पुग्छन् ।

भावनात्मक रूपमा कमजोर भएको संकेत

-परिवार वा साथीहरूसँग पहिलेजस्तो सहज रूपमा संवाद गर्न नसक्ने

-कुनै काममा रुचि घट्दै जाने

-सानो कुरामा अत्याधिक निराश हुने वा रिस उठ्ने

-निद्रामा समस्या हुने

– एक्लोपनको महसुस हुने

यी संकेतहरू देखिन्छन् भने, समयमै आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन आवश्यक छ।

स्वस्थ तरिकाले भावना व्यक्त कसरी गर्ने ?

भावनाहरू लुकाउनुको सट्टा, स्वस्थ रूपमा व्यक्त गर्ने उपाय भनेको मनका कुरा लेखेर पनि हलुका बनाउन सकिन्छ ।त्यस्तै, सिर्जनात्मक रूपमा अभिव्यक्त गर्न रुचि भएका काममा ध्यान दिन सकिन्छ । सबैभन्दा राम्रो तरिका भनेको नजिकको व्यक्तिलाई भावना पोख्नु पनि हो । यसले मन हलुको बनाउँछ ।

यी तरिकाबाट पार लागिरहेको छैनन् भने विशेषज्ञको परामर्श लिन सकिन्छ ।

भावना व्यक्त गर्ने कलाको उदाहरण : जापानको ‘हेलो केट्टी’

जापानमा प्रसिद्ध खेलौना ‘हेलो केट्टी’ को सबै अंग छन् तर मुख बनाइएको छैन । यसको अर्थ के हो भने, जापानी संस्कृति व्यवहारलाई मुख्य रूपमा भावनाहरू व्यक्त गर्ने माध्यम मान्छ।

मानिसहरूले मुखले भन्दा पनि आफ्ना हाउभाउ, व्यवहार, र कर्मबाट भावना देखाउने विश्वास राख्छन् ।

हामी पनि हाम्रो समाजमा स्वस्थ मानसिकता विकास गर्न, भावना व्यक्त गर्न सिक्न र अरूको भावनालाई बुझ्न सक्ने वातावरण बनाउन आवश्यक छ।

मुख नबनाउनुको कारण भनेको परिवारमा यस्ता धेरै व्यक्तिहरु छन उनीहरुले भावना मुखबाट नभई व्यवहारबाट व्यक्त गर्छन । ती प्रकट गरेका भावनाहरुलाई राम्रोसँग बुझ्न सकेमा राम्रो समाजको सिर्जना गर्न सकिन्छ भन्ने देखाउनका लागि बनाएको भनिएको थियो ।

जस्तो कि, मन दु:खी छ भने मौखिकरुपमा व्यक्त नगरी अनुहार मलिन बनाउने, भाँडा बजाउने, राम्रोसँग नबोल्ने र राम्रोसँग काम गर्न नसक्ने यस्ता व्यवहारले पनि पत्ता लाग्छ।

भावनात्मक रूपमा कसरी बलियो बन्ने?

देखेका, पढेका, भोगेका, सुनेको कुराका आधारमा मस्तिष्कले प्रतिक्रिया दिनु भावना हो । मनभित्र के छ ? के गइरहेको छ त्यही स्वरुप भावना हो । यो भावनालाई नकारात्मक बन्न नदिने भनेको राम्रा र काम लाग्ने कुरा लिने अनि नराम्रा कुरालाई हटाउदै जाने हो ।

त्यसका लागि के गर्ने त ?

– नियमित दिनचर्या बनाउने

-समयमै खाना, निद्रा, व्यायाममा ध्यान दिने

-रुचि लाग्ने काममा संलग्न हुने

– नकारात्मक सोच र संगतबाट टाढा रहने

– सन्तुलित पारिवारिक र सामाजिक सम्बन्ध राख्ने

-भावनात्मकरुपमा कुविचार आउन नदिने ।

यसबाहेक जीवनको लय कस्तो बाटोमा गइरहेको छ ? त्यो विचार गर्नु आवश्यक छ । जीवनलाई सहज र सरल बनाउन कुनै न कुनै कुरामा लय बनाउन वा समात्न आवश्यक छ ।

मनोरोग मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय